Logo

चाडपर्वले छोएको आयात व्यापार : भदौमा मात्रै १ खर्ब ३४ अर्बको आयात, निर्यातमा उच्च गिरावट

चाडपर्वले छोएको आयात व्यापार : भदौमा मात्रै १ खर्ब ३४ अर्बको आयात, निर्यातमा उच्च गिरावट



काठमाडौं । नेपालीहरुको मुख्य चाडपर्वका रुपमा मनाईँदै आएका दशैं, तिहार, छठलगायतका चाडपर्वको माहोल सुरु भईसकेको छ । यीनै अवसरहरुलाई व्यापारीहरुले भने सबैभन्दा बढी व्यापार हुने समयको रुपमा लिने गरेका छन् । हुनपनि यहि बेलामा लत्ताकपडा, खाद्यान्न, सजावटका सामग्रीलगायतको व्यापार उच्च हुने गरेको छ ।

चाडपर्वकाे राैनककै कारण गएको भदौ महिनामै नेपालले १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । भन्सार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक बर्षको साउनसम्म १ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ बराबरको मालवस्तु आयात गरेको नेपालले भदौसम्म आईपुग्दा थप्दै २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो । अर्थात नेपालले भदौमा साउनको तुलनामा ४ अर्ब रुपैयाँ बढीको मालवस्तु आयात गरेको देखिन्छ ।

चालु आर्थिक बर्षको भदौसम्म नेपालले आयात गरेको वस्तुको मूल्य गत आर्थिक बर्षको यहि अवधिको तुलनामा १.०८ प्रतिशतले बढी हो । यसअघि लगातार ओरालो लागेको आयात व्यापार चालु आवको दुई महिनामा भने उकालो लागेको विभागले जानकारी दिएको छ ।

नेपालको आयात व्यापार उकालो लाग्दा यसै अवधिमा निर्यात व्यापारमा भने उच्च गिरावट देखिन्छ । भन्सार विभागको तथ्यांकलाई आधार मान्दा गत आर्थिक बर्षको पहिलो २ महिनामा २६ अर्ब ४४ करोड रुपैयाँ बराबरको मालवस्तु विदेशतर्फ निर्यात गरेको नेपालले चालु आवको सोही अवधिमो उक्त निर्यात घटाएर २५ अर्ब ९ करोडमा सीमित बनाएको हो । अर्थात नेपालको निर्यात व्यापार गत आवको तुलनामा ५ प्रतिशतले घटेको छ ।

पछिल्लो समय आर्थिक विश्लेषणकर्ता तथा राजनितिज्ञहरु पनि अर्थतन्त्रमा शिथिलता आएका कारण आयात निर्यात दुबै व्यापार ओरालो लागेको बताउँदै आएका थिए । तर, चालु आव सुरुभएसँग आयातको व्यापार झिनो रुपमा उकालो लागेपनि निर्यात व्यापार निरन्तर ओरालो लाग्ने क्रममा छ ।

यता नेपालको व्यापारघाटा पनि चालु आवको पहिलो २ महिनामा गत आवको सोही अवधिको तुलनामा बढेर २ खर्ब ३७ अर्ब नाघेको छ । गत आवको सोही अवधिमा नेपालले व्यहोरेको व्यापारघाटा २ खर्ब ३३ अर्ब बढी मात्रै थियो ।

प्रतिक्रिया दिनुहोस्