Logo

सार्वजनिक ऋण २५ खर्ब नाघ्यो, २ महिनामै थपियो १ खर्ब ४ अर्ब

सार्वजनिक ऋण २५ खर्ब नाघ्यो, २ महिनामै थपियो १ खर्ब ४ अर्ब



काठमाडौं । सरकारले विभिन्न क्षेत्रबाट प्राप्त गर्ने सार्वजनिक ऋण २५ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक बर्षको भदौ मसान्तसम्म सरकारले तिर्न बाँकी ऋण मात्रै २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको हो ।

गत आर्थिक बर्षको असार मसान्तसम्म २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको तिर्न बाँकी ऋण चालु आवको दुई महिनामा १ खर्ब ४ अर्ब थप भएको हो । यसबीचमा सरकारले ऋणको सावाँ र ब्याज पनि केहि मात्रामा घटाउँदा पछिल्लो २ महिनामा तिर्न बाँकी ऋणमा ९४ अर्ब ५२ करोड रुपैयाँ थपिएकाे हाे ।

नेपालको कुल गार्हस्थ उत्पादनमा सार्वजनिक ऋणको अनुपात ४४.३२ प्रतिशत पुगेको छ ।

कार्यालयका अनुसार यसमा आन्तरिक ऋणको हिस्सा २१.६६ प्रतिशत र बाह्य ऋणको हिस्सा २२.६६ प्रतिशत हुन आएको देखिन्छ । हालसम्म सरकारले बाह्यतर्फ १२ खर्ब ९२ अर्ब र आन्तरिकतर्फ १२ खर्ब ३५ अर्ब रुपैयाँ सार्वजनिक ऋण तिर्न बाँकी छ ।

सरकारले चालु आर्थिक बर्षमा ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य लिएको छ । त्यसमध्ये भदौ मसान्तसम्म सरकारले कुल लक्ष्यको १८.६६ प्रतिशत प्राप्ती गरिसकेको देखिन्छ । जसमध्ये यस अवधिसम्म आन्तरिकतर्फ सरकारले २७.२७ र बाह्यतर्फ ६.४८ प्रतिशत ऋण प्राप्त गरिसकेको देखिन्छ ।

चालु आर्थिक बर्षमा ऋण सेवा खर्चमा सरकारले ४ खर्ब २ अर्ब रुपैयाँ विनियोजन गरेको छ । त्यसमध्ये भदौ मसान्तसम्म ४७ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ भुक्तानी गरिसकेको कार्यालयले जानकारी दिएको छ । यो बार्षिक बजेट विनियोजनको आधारमा ११.८४ प्रतिशत हो । कुल गार्हस्थ उत्पादनको आधारमा भदौ मसान्तससम्ममा कुल ऋण सेवा खर्च ०.८४ प्रतिशत रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL