Logo

एक महिनामै सरकारले उठायो साढे ४३ अर्ब ऋण, ब्याजमात्रै झण्डै ४ अर्ब भुक्तानी

एक महिनामै सरकारले उठायो साढे ४३ अर्ब ऋण, ब्याजमात्रै झण्डै ४ अर्ब भुक्तानी



काठमाडौं । नेपालले चालु आर्थिक बर्षको पहिलो महिना साउनमा मात्रै साढे ४३ अर्ब बढी सार्वजनिक ऋण प्राप्त गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दिएको जानकारी अनुसार आन्तरिक र बाह्य गरी साउनमा मात्रै सरकारले ४३ अर्ब ५९ करोड रुपैयाँ ऋण उठाएको हो ।

यस अवधिमा उठाईएको ऋणमध्ये सबैभन्दा बढी हिस्सा अर्थात ४० अर्ब नै आन्तरिक स्रोतबाट उठाईएको कार्यालयले जानकारी दिएको छ । साउनमा नेपालले बाह्य स्रोतबाट जम्मा ३ अर्ब ५९ करोड रुपैयाँ मात्रै ऋण उठाउन सफल भएको देखिन्छ ।

चालु आर्थिक बर्षका लागि सरकारले ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण प्राप्ति गर्ने लक्ष्य लिएको छ । त्यसमध्ये साउनमा मात्रै बार्षिक लक्ष्यको ७.९७ प्रतिशत ऋण उठाईएको हो । जसमा बार्षिक लक्ष्यमध्ये सरकारले आन्तरिकतर्फ १२.१२ प्रतिशत र बाह्यतर्फ १.६६ प्रतिशत ऋण उठाएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।

एक महिनामै झण्डै ४ अर्ब ब्याज भुक्तानी

पछिल्लो समय बढ्दो चालु खर्चका कारण सरकारी बजेट हरेक बर्षजसो दबावमा पर्ने गरेको छ । जसका कारण सामान्यतया चालु खर्चका लागि पनि सरकारले ऋण लिएर खर्च गर्नुपर्ने अवस्था छ । यसैका कारण नेपालको सार्वजनिक ऋण बर्षेनी बढ्दै गएको छ । कार्यालयको तथ्यांकलाई आधार मान्दा नेपालले तिर्नुपर्ने ऋण मात्रै साउन मसान्तसम्म २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । यो रकम गत आर्थिक बर्षको असार मसान्तसम्म २४ खर्ब ३१ अर्ब ३३ करोड रुपैयाँ थियो । चालु आवको एक महिनामै तिर्नुपर्ने सार्वजनिक ऋण ४१ अर्ब ११ करोड रुपैयाँले थप भएको हो ।

यसरी बर्षेनी थपिँदै गएको सार्वजनिक ऋणको ब्याज दायित्व पनि बर्षेनी बढ्दै गएको देखिन्छ । यसैका कारण गएको साउन महिनामा मात्रै नेपालले सार्वजनिक ऋणको ब्याज शिर्षकमा ३ अर्ब ९२ करोड (झण्डै ४ अर्ब) रुपैयाँ भुक्तानी गरेको हो । यस्तो ब्याज गत आर्थिक बर्षभरी नेपालले ८२ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो । हाल नेपालको सार्वजनिक ऋण नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)को अनुपातमा ४३.३४ प्रतिशत पुगेको छ । जसमा २२.२४ प्रतिशत हिस्सा बाह्य ऋणको छ भने २१.१० प्रतिशत हिस्सा आन्तरिक ऋणको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL