काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले नेपालको विकासका लागि पुँजीबजारबाट पनि मनग्य पुँजी संकलन गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पुँजीबजारको दिगो विकाससँगै विकासका लागि पुँजी संकलन गर्नुपर्ने बताएका हुन् ।
‘लगानीको उद्धेश्य पूरा गर्ने हो हामीले आइपीओबाट मात्रै प्रतिबर्ष २ खर्बको पुँजी उठाउनुपर्छ,’ उनले भने, ‘त्यसको लागि के के सुधार गर्नुपर्छ, कसरी पुँजी बजारप्रति विश्वास बढाउनुपर्छ त्यो सबै काम राज्यले गर्नुपर्छ त्यसमा अन्यथा सोच्ने ईफ बटको कुरै छैन ।’
उनले यसरी आइपीओबाट मात्रै पुँजी उठाउनका लागि पुँजी बजारलाई गतिशिल र स्थायी प्रकृतिको बनाउनुपर्नेमा जोड दिनुपर्ने बताए । यस्तै पुँजी बजारको नियामक निकायमा पारदर्शी ढंगले व्यवस्थित गर्ने व्यक्ति पनि उत्तिकै आवश्यक रहेको उनको भनाई थियो ।
उनले कार्यक्रममा बोल्दै बार्षिक २३ खर्ब रुपैयाँ लगानी गर्नुपर्नेमा २ तिहाई निजी क्षेत्रले र एक तिहाई सरकारले लगानी गर्नुपर्ने आँकलन आफुले गरेको बताए । निजी क्षेत्रको लगानी ७० प्रतिशत माथिको हुनपर्नेमा जोड दिँदै उनले । स्वदेशी लगानीको वातावरण राम्रो नहुन्जेलसम्म विदेशी लगानी नआउने भएकाले स्वदेशी लगानीकर्ताले विदेशी लगानीकर्ताको मन जित्नुपर्ने बताए ।
विधिसम्मत सिर्जना भएको दायित्वहरु सरकारले पूरा गर्नुपर्ने बताउँदै उनले निर्यातको अनुदान व्यवसायीको भ्याट फिर्ता, निर्माण व्यवसायीको भुक्तानी, किसानको दूधको भुक्तानी र कृषि अनुदानको रकम गरी विभिन्न ६ शिर्षकमा ५० अर्ब बढीको सरकारी दायित्व चाँडै पूरा गर्नुपर्नेमा जोड दिए ।