काठमाडौं । चीनको वुहान निवासी ३६ वर्षीय लिउ यी देशका ७० लाख एपमा आधारित ट्याक्सी चालकमध्ये एक हुन् । लिउ यीले यस वर्ष पार्ट–टाइम ट्याक्सी चलाउन थाले किनभने देशभर अपार्टमेन्ट बिक्री सुस्त भयो र निर्माण उद्योग संकटमा पर्यो । उनी निर्माण क्षेत्रमा काम गर्थे ।
आफ्नो ट्याक्सीको छेउमा उभिएर, यीले अब अर्को संकटको भविष्यवाणी गरिरहेका छन् । उनले आफ्ना छिमेकीहरूलोई चालकविहीन (रोबोट) ट्याक्सीहरू अर्डर गरेको देखन थालेका छन् । ‘सबै भोकै हुनेछन्,’ उनले वुहानका ड्राइभरहरूका बारेमा भने, जसले टेक जायन्ट बाइडुको सहायक कम्पनी एपोलो गोबाट रोबोट ट्याक्सीसँग प्रतिस्पर्धा गरिरहेका छन् । चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयले भने यस सम्बन्धनमा प्रतिक्रिया दिन अस्वीकार गर्यो ।
चीनको सडकमा रोबोट ट्याक्सी
एपमा आधारित ट्याक्सी र ट्याक्सी ड्राइभरहरू कृत्रिम बुद्धिमत्ताका (एआई) कारण रोजगारी गुमाउने विश्वव्यापी रूपमा पहिलो कामदारहरू हुन् किनभने हजारौं रोबोटट्याक्सीहरू चीनको सडकमा पुगेका छन् । अर्थशास्त्री र उद्योग विशेषज्ञहरूले भने–‘सेल्फ–ड्राइभिङ टेक्नोलोजी अझै पनि प्रयोगात्मक चरणमा छ, तर चीनले आक्रामक रूपमा यसको परीक्षणलाई स्वीकृति दिइरहेको छ जबकि अमेरिकाले अनुसन्धान सुरु गर्न र दुर्घटनाहरू पछि स्वीकृतिहरू निलम्बन गर्न तत्पारता देखाएको छ ।’
चीनका कम्तीमा १९ सहरमा रोबोट ट्याक्सी र रोबोबसको परीक्षण भइरहेको छ । यी मध्ये सात सहरहरूले त्यस्ता प्रयोगहरूलाई अनुमति दिएका छन्, जसमा सुरक्षा निगरानी सुनिश्चित गर्न मानव चालकहरूको उपस्थिति आवश्यक छैन । अपोलो गो, पुनी. एआई, वी-राइड, ऑटोएक्स र एसएआईसी मोटर नामका कम्पनीहरूले यी सहरहरूमा यी प्रयोगहरू गरिरहेका छन् ।
चीनमा सेल्फ ड्राइभिङ कार
अपोलो गोले मे २०२४ मा यस वर्षको अन्त्यसम्म वुहानमा १,००० रोबोट ट्याक्सीहरू तैनाथ गर्ने योजना बनाएको बताएको थियो । सन् २०२२ मा कम्पनीले सन् २०३० सम्ममा १०० सहरमा काम गर्ने अनुमान गरेको थियो । अगस्ट १२ मा जारी गरिएको एक विज्ञप्तिमा, अपोलो गोले चीनमा स्वायत्त यातायातको संक्रमण ‘क्रमशः र राम्रोसँग विनियमित’ हुने अपेक्षा गरेको छ । ‘हाम्रो रोबोटट्याक्सी फ्लीट हाल अवस्थित यातायात विकल्पहरू प्रतिस्थापन गर्नुको सट्टा पूरक हो,’ कम्पनीले भन्यो ।
जापानको टोयोटा मोटरद्वारा समर्थित पुनी.एआई ले ३०० वटा रोबोटट्याक्सी सञ्चालन गर्दछ र २०२६ सम्ममा थप १००० थप्ने योजना बनाएको छ । कम्पनीका उपाध्यक्षले भने–‘रोबोटट्याक्सीलाई दिगो रूपमा नाफामुखी बन्न पाँच वर्ष लाग्न सक्ने छ, त्यसपछि तिनीहरूले ‘छिटा’ विस्तार गर्नेछन् ।’ बोस्टन कन्सल्टिङ ग्रुपका प्रबन्ध निर्देशक अगस्टिन वेग्स्चाइडरले भने कि चीनले पनि स्वचालित सवारीको इजाजतपत्र जारी गर्ने कुरामा बृद्धि भएको देखेको छ, जबकि अमेरिकामा यो प्रक्रिया चरणबद्ध रूपमा चलिरहेको छ ।
अल्फावेट वाइमो एक मात्र अमेरिकी कम्पनी हो जसले व्यावसायिक रूपमा चालकविहीन रोबोटट्याक्सी सञ्चालन गर्छ । कम्पनीका प्रवक्ताले कम्पनीका सान फ्रान्सिस्को, लस एन्जलस, फिनिक्स र अस्टिन, टेक्सासमा करिब ७०० कार सञ्चालनमा रहेको तर ती सबै सँधै सेवामा नरहेको बताए । चीनमा रोबोटट्याक्सीमा यात्रा गर्नेबारे सुरक्षा चिन्ताहरू छन्, तर अधिकारीहरूले आर्थिक लक्ष्यहरू प्राप्त गर्न सवारी साधनहरूको थप परीक्षणलाई अनुमति दिइरहेका छन् । राष्ट्रपति सी जिनपिङले २०२३ मा ‘नयाँ उत्पादक शक्तिहरू’ को आवश्यकतामा जोड दिएपछि देशभरका विभिन्न शहरहरूमा परीक्षण सुरु भयो ।
चीन–अमेरिका द्धन्द्ध
केही चिनियाँ कम्पनीहरूले अमेरिकामा सेल्फ ड्राइभिङ कारको परीक्षण गर्न खोजेको भए पनि ह्वाइट हाउसले चीनले विकास गरेको प्रणाली भएका सवारीसाधनमाथि प्रतिबन्ध लगाउन लागेको कुराको जानकारी भएका व्यक्तिले बताए । आधिकारिक तथ्यांकअनुसार चीनमा ७० लाख चालक छन् जसले विभिन्न एप्समार्फत यात्रुहरूलाई सवारी सेवा प्रदान गर्छन् । दुई वर्षअघि उनीहरुको संख्या ४४ लाख थियो । आर्थिक मन्दीको समयमा यो अनलाइन ट्याक्सी सेवाले बेरोजगारलाई रोजगारी दिएको छ । तर, सेल्फ ड्राइभिङ ट्याक्सीको बृद्धिका कारण यी व्यक्तिको रोजगारीमा असर पर्ने सम्भावना रहेकाले चिनियाँ सरकारले यसको द्रुत विस्तारलाई सुस्त बनाउन सक्ने अर्थशास्त्रीहरू बताउँछन् ।
ट्याक्सी चालकलाई रोजगारीको संकट
वुहानमा अर्को अनलाइन ट्याक्सी सेवाका चालक, ६३ वर्षीय वाङ गुओकियाङले यी सवारी साधनको बढ्दो प्रयोगलाई आर्थिक रूपमा कमजोर व्यक्तिहरूका लागि खतराको रूपमा हेर्छन् । ‘एपमा आधारित ट्याक्सीहरू तल्लो वर्गको काम हो,’ गुओकियाङले भने । उनले भने, ‘यदि यो उद्योगलाई हटाउनुभयो भने उनीहरुलाई के गर्न बाँकी रहन्छ ?’
देशको घट्दो जनसंख्यालाई ध्यानमा राख्दै चीनले दीर्घकालीन रूपमा रोजगारी स्वचालन गरेर फाइदा लिन सक्ने अर्थशास्त्रीहरू बताउँछन् । पेकिङ युनिभर्सिटीका एसोसिएट प्रोफेसर ताङ याओले छोटो अवधिमा नयाँ रोजगारी सिर्जना र पुरानो जागिरबीच सन्तुलन कायम गर्न महत्त्वपूर्ण रहेको बताए । ‘हामीलाई छिटो अघि बढ्न आवश्यक छैन किनकि हामी पहिले नै अगाडि छौं,’ उनले भने ।
इस्टर्न पायोनियर ड्राइभिङ स्कूलले सन् २०१९ देखि आफ्ना प्रशिक्षकहरूको संख्या आधा घटाएर ९०० मा झारेको छ । वैकल्पिकरूपमा, विद्यालयले बेइजिङको नियन्त्रण कक्षमा शिक्षकहरू खटाएको छ, जो केन्द्रमा बस्छन् र विभिन्न सवारी साधनहरूमा जम्मा ६१० विद्यार्थीहरूको निगरानी गर्छन् । विद्यार्थीलाई निर्देशन दिन यी सवारीसाधनमा कम्प्युटर प्रणाली जडान गरिएको छ । कारहरूमा जडान गरिएका यी कम्प्युटरहरूले स्टेयरिङ ह्वील घुमाउने वा ब्रेक लगाउनेजस्ता हरेक कार्यहरू रेकर्ड गर्छन् र विद्यार्थीहरूलाई उनीहरूको कार्यसम्पादनको आधारमा अंकहरू दिइन्छ । अनुवाद गरिएको