Logo

सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नाघ्यो, एकै बर्ष थपियो साढे ३ खर्ब बढी

सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नाघ्यो, एकै बर्ष थपियो साढे ३ खर्ब बढी



काठमाडौं । नेपालको सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गएको आर्थिक बर्षको असार मसान्तसम्म नेपालको तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ३ करोड रुपैयाँ पुगेको हो । यो नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)को आधारमा ४२.६५ प्रतिशत हो । जसमा नेपालले ११ खर्ब ८० अर्ब आन्तरिक र १२ खर्ब ५३ अर्ब बाह्य ऋण तिर्न बाँकी छ ।

सरकारले गएको आर्थिक बर्षमात्रै सार्वजनिक ऋणको नाममा २ खर्ब ३४ अर्ब आन्तरिक र १ खर्ब २३ अर्ब बाह्य गरी ३ खर्ब ५८ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाएको थियो । यसरी उठाएको ऋणमध्ये सरकारले केहि रकम मात्रै भुक्तानी गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ । गएको आवभरी सरकारले आन्तरिकतर्फ १ खर्ब ८२ अर्ब र बाह्यतर्फ ४० अर्ब ७२ करोड गरी जम्मा २ खर्ब २३ अर्ब ३४ करोड रुपैयाँ मात्रै ऋणकाे सावाँ भुक्तानी गरेको हो ।

अघिल्लो आर्थिक बर्ष २०७/८० को असार मसान्तसम्म नेपालको तिर्न बाँकी रहेको सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ थियो । यसर्थ गएको आर्थिक बर्षमात्रै सरकारले तिर्न बाँकी सार्वजनिक ऋण १ खर्ब ३४ अर्ब रुपैयाँले थपिएको हो ।

सरकारले गएको आर्थिक बर्षभरी कुल ४ खर्ब ५२ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको थियो । तर, भनेबमोजिम सार्वजनिक ऋण उठाउन नसक्दा सरकारले उक्त आवमा ३ खर्ब ५८ अर्ब रुपैयाँ मात्रै ऋण प्राप्त गरेको थियो । जुन लक्ष्यको ७९ प्रतिशत हो । जसमा आन्तरिकतर्फ लक्ष्यको ९७.६८ प्रतिशत ऋण प्राप्त भएपनि बाह्यतर्फ भने लक्ष्यको जम्मा ५८.१० प्रतिशत मात्रै प्राप्ती भएको कार्यालयले जानकारी दिएको छ ।

सरकारले गएको आर्थिक बर्षभरी सार्वजनिक ऋणको सावाँमा २ खर्ब २३ अर्ब ३४ करोड र ब्याजमा ८२ अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL