Logo

अन्तिम दिनसम्म सरकारले गर्यो लक्ष्यको ७७ प्रतिशत खर्च, पुँजीगत खर्च नाजुक, एकैदिन ३३ अर्ब ६१ करोड भुक्तानी

अन्तिम दिनसम्म सरकारले गर्यो लक्ष्यको ७७ प्रतिशत खर्च, पुँजीगत खर्च नाजुक, एकैदिन ३३ अर्ब ६१ करोड भुक्तानी



काठमाडौं । सरकारी खर्च खाता बन्द हुने अन्तिम दिन ‘सोमबार’सम्म सरकारले लक्ष्यको जम्मा ७७ प्रतिशत मात्रै कुल खर्च गर्न सकेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सोमबारसम्म सरकारले कुल १३ खर्ब ५६ अर्ब २१ करोड ५२ लाख रुपैयाँ बराबर मात्रै खर्च गर्न सकेको हो । यो चालु आवमा लिईएको लक्ष्यको ७७.४४ प्रतिशत मात्रै हो । सरकारले चालु आवको बजेटमार्फत १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो ।

सरकारले बजेटमार्फत लिएका लक्ष्यमध्ये सबैभन्दा नाजुक अवस्था भने विकास खर्चकै छ । चालु आवभरी ३ खर्ब २ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य सरकारले लिएपनि हालसम्म जम्मा १ खर्ब ७२ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । यो लक्ष्यको जम्मा ५६.९७ प्रतिशत हो । खासगरी सरकारले भनेबमोजिम पुँजीगत खर्च गर्न नसकेकै कारण सयौं निर्माण व्यवसायीहरुको भुक्तानी नै रोकिएको छ ।

यता चालु खर्चतर्फ भने सरकारले चालु आवभरी अर्थात खाता बन्द हुने अन्तिम दिन सोमबारसम्म ९ खर्ब ३३ अर्ब ८५ करोड रुपैयाँ खर्च गरेको छ । यो चालु आवमा लिईएको लक्ष्यको ८१.७९ प्रतिशत छ । चालु आवमा सरकारले चालुतर्फ ११ खर्ब ४१ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो । यस्तै वित्तीय व्यवस्था अर्थात सार्वजनिक ऋणको सावाँतर्फ सरकारले चालु आवभरी २ खर्ब ५० अर्ब २६ करोड रुपैयाँ भुक्तानी गरेको छ । यो चालु आवको लक्ष्यको ८१.४ प्रतिशत हो । चालु आवभरी सरकारले सार्वजनिक ऋणको ३ खर्ब ७ अर्ब रुपैयाँ सावाँ भुक्तानी गर्ने लक्ष्य लिएको थियो । यद्यपी सरकारले चालु आवको बजेटको अर्धबार्षिक समीक्षामार्फत यी लक्ष्यहरुलाई केहि घटाएको भने थियो ।

एकैदिन ३३ अर्ब ६१ करोड भुक्तानी

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारी भुक्तानी हुने अन्तिम दिन सोमबार मात्रै सरकारले ३३ अर्ब ६१ करोड रुपैयाँ बढीको भुत्तानी गरेको छ । यो दिनका आधारमा चालु आवभरी सबैभन्दा बढी भुक्तानी भएको दिन हो ।

यसैदिन सरकारले चालुतर्फ ९ अर्ब ८५ करोड, पुँजीगततर्फ १४ अर्ब ४० करोड र वित्तीय व्यवस्थापनतर्फ ९ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

असारमै १ खर्ब ७४ अर्ब भुक्तानी

बर्षैपिच्छे बजेटमा तोकिएको लक्ष्यमा पुग्न सरकारले आर्थिक बर्षको अन्तिम महिना असारमै भुक्तानीलाई तिव्रता दिँदै आएको छ । यस्तो प्रवृत्तिकलाई अन्त्य गर्नेगरी सबैजसो अर्थमन्त्रीहरुले प्रतिवद्धता जाहेर गर्दैै आएपनि हालसम्म यो प्रवृत्तिको अन्त्य हुन नसकेको देखिन्छ । जसको फलस्वरुप यो बर्ष पनि असारमा अत्याधिक भुक्तानी भएको देखिन्छ ।

यसरी हेर्दा चालु आर्थिक बर्षको असारमा मात्रै १ खर्ब ७४ अर्ब ९१ करोड रुपैयाँ बढीको भुक्तानी भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । अर्थात असार १ गतेसम्म सरकारले कुल खर्च ११ खर्ब ८१ अर्ब २१ करोड रुपैयाँ खर्च गरेकोमा सोमबारसम्म उक्त खर्च बढाएर १३ खर्ब ५६ अर्ब २१ करोड रुपैयाँ पुर्याएको हो ।

असारमा सरकारले पुँजीगत खर्च मात्रै ३७ अर्ब ११ करोड रुपैयाँ भुक्तानी गरेको छ । यस्तै यस अवधिमार चालुतर्फ १ खर्ब ११ अर्ब र वित्तीय व्यवस्थापनतर्फ २६ अर्ब ७५ करोड रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL