काठमाडौं । भारतमा गत वर्ष नोभेम्बरदेखि भारतमा खाद्य वस्तुको मुद्रास्फीति झन्डै ८ प्रतिशतमा रहेको छ । यसको मुख्य कारण खराब मौसम हो जसले बालीनालीमा क्षति पुगेको छ । यसपटक मनसुन चाँडै आइपुगेको र वर्षा पनि राम्रो हुने अनुमान गरिएको छ । तर, चाँडै नै मूल्यमा कुनै राहतको सम्भावना भने छैन र खाद्यवस्तुको मूल्यवृद्धि चिन्ताको विषय बनेको छ । मुद्रास्फीति दर भारतीय रिजर्भ बैंक (आरबीआई) को लक्ष्य ४ प्रतिशतभन्दा माथि रहेको छ र यसका कारण ब्याजदर घटाउन सकिने अवस्था पनि छैन ।
खाद्य वस्तुको मूल्यवृद्धि हुनुका पछाडि धेरै कारण हुन्छन् । मुख्यतया मौसमी अवस्था, आपूर्ति श्रृंखला अवरोध र खेतीमा ढिलाइ रहने गर्दछन । भारतमा गत वर्षको खडेरी र यस वर्षको चर्को गर्मीले दाल, तरकारी र अन्नजस्ता महत्वपूर्ण खाद्यान्नको आपूर्ति प्रभावित भएको छ । देशको झण्डै आधा भागमा सामान्यभन्दा ४–९ डिग्री सेल्सियस तापक्रम बढेकाले कटाई र भण्डारण गरिएको तरकारी बिग्रिएको छ । प्याज, टमाटर, भण्टा, पालुंगोजस्ता बाली रोप्न ढिलाइ भएको छ ।
मनसुनबाट किन सहयोग भएन ?
किसानहरूले सामान्यतया जुन–सेप्टेम्बरको मनसुन अघि तरकारी तयार गर्छन् । तर, यस वर्ष चर्को गर्मी र पानीको अभावका कारण न बिरुवा तयार भएको छ न त रोपाइ नै भएको छ । जसका कारण तरकारीको अभाव झनै बढेको छ । तर, यसपटक मनसुन चाँडै आइपुगेको र देशैभर तीव्र गतिमा फैलिए पनि केही समयमै मनसुन सुस्त भयो । जसका कारण यस सिजनमा अहिलेसम्म १८ प्रतिशत कम वर्षा भएको छ । कमजोर मनसुनका कारण वर्षे बाली रोप्न ढिलाइ भएको छ । यी बालीहरूलाई राम्रो वर्षा चाहिन्छ । जुन महिनाको वर्षा राम्रो नभए पनि मनसुनको बाँकी समयमा सामान्यभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसले बाली उत्पादनमा सुधार आउने अपेक्षा गरिएको छ ।
मनसुन फेरि सक्रिय भए र समयमै देशभर पानी परे भदौदेखि तरकारीको भाउ घट्ने अनुमान गरिएको छ । तर, जुलाई र अगस्टमा बाढी वा खडेरी परेमा बाली चक्र प्रभावित हुन सक्छ । दूध, अन्न र दालको मूल्य छिट्टै घट्ने सम्भावना छैन् किनकी यी वस्तुको आपूर्ति कम छ । भारतमा गहुँको मौज्दात पनि घट्दै गएको छ । खाद्यान्न आयात गर्ने सरकारको कुनै योजना छैन । यस्तो अवस्थामा गहुँको भाउ अझै बढ्ने सम्भावना छ । चामलको भाउ पनि बढ्न सक्छ । कारण सरकारले धानको न्यूनतम समर्थन मूल्य ५.४ प्रतिशतले बढाएको हो ।
सरकारले के कदम चाल्न सक्छ ?
सरकारले खाद्यवस्तुको मूल्य घटाउन केही कदम चाल्न सक्छ । उदाहरणका लागि निर्यातमा प्रतिबन्ध र आयातमा सजिलो बनाउन सकिन्छ । तर, तरकारीको मूल्यमा सरकारले खासै केही गर्न सकेको छैन । कारण यो हो कि यी नाश हुने वस्तुहरू हुन् र आयात गर्न पनि गाह्रो छ । चिनी, चामल, प्याज र गहुँको निकासीमा प्रतिबन्ध लगाउने जस्ता उपायहरु अवलम्बन गरिए पनि किसानहरु माझ लोकप्रिय हुन सकेको छैन । आक्रामक कदम चाल्नुको सट्टा, केन्द्रीय सरकारले केही बालीहरूको मूल्य बढाउन अनुमति दिन सक्छ ।
खाद्यान्नको मूल्य किन चिन्ताको विषय हो ?
खुद्रा मुद्रास्फीति सामान्य भए पनि खाद्यान्नको मूल्य अझै चिन्ताको विषय हो । उपभोक्ता मूल्य सूचकांक (सिइपीआइ) मा आधारित खुद्रा मुद्रास्फीति क्रमशः घट्दै छ । यो मे २०२४ मा ४.८ प्रतिशत अर्थात १२ महिनाको सबैभन्दा न्यूनस्तरमा पुग्यो । तर, खाद्यान्न, विशेषगरी तरकारी र दालको मूल्यमा निरन्तरको दबाबका कारण यो सकारात्मक प्रवृत्ति उल्टिने सम्भावना छ ।
समग्रमा खाद्यवस्तुको मुद्रास्फीति ७.९ प्रतिशतमा स्थिर रहेको छ । केन्द्रीय बैंकले बारम्बार अस्थिर खाद्य मूल्यहरूको बारेमा चेतावनी दिएको छ, जुन हालको चरम गर्मी लहर जस्ता मौसम–सम्बन्धित झटकाबाट अत्यधिक प्रभावित हुन्छ । यी उतारचढावका कारण खाद्यवस्तुको मुद्रास्फीति बढेको छ । यसले भारतीय रिजर्भ बैंक (आरबीआई) लाई आफ्नो लक्ष्य ४ प्रतिशतमा मुद्रास्फीति दर कायम राख्न गाह्रो बनाएको छ ।
नेपालसम्म असर
भारतमा चर्को गर्मीले तरकारी र दालको मूल्य ह्वात्तै बढदा त्यसको नेपाली भान्छासम्म परेको छ । नेपालमा प्रायः खाधान्न, तरकारीदेखि फलफूलसम्म भारतबाट आयात हुने हुँदा भारतयि बजारमा मूल्यवृद्धि हुँदा नेपालमा स्वतः मूल्य बढने गर्छ । जसको फलस्वरुप अहिले नेपाली बजारमा दालको मूल्य निकै माथि पुगेको छ भने यो सिजनमा तरकारी मूल्य सस्तो हुनुपर्ने भएपनि अहिलेपनि तरकारीको मूल्यसमेत कम भएको छैन् । अर्कोतर्फ नेपाल राष्ट्र बैंकको तथ्यांकमा महँगी कम भएको उल्लेख भएपनि बजारमा भने चरम महँगीको अवस्था रहेको छ ।