Logo

डलरको मुल्य हालसम्मकै उच्च, एक डलर किन्न १३४.१५ रुपैयाँ खर्चनुपर्ने, नेपाललाई के असर पर्छ ?

डलरको मुल्य हालसम्मकै उच्च, एक डलर किन्न १३४.१५ रुपैयाँ खर्चनुपर्ने, नेपाललाई के असर पर्छ ?



काठमाडौं । नेपाली मुद्राको तुलनामा डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार एक अमेरिकी डलर खरिद गर्नका लागि नेपाली १ सय ३४ रुपैयाँ १५ पैसा खर्चनुपर्ने भएको छ । यो नेपाली मुद्रा हालसम्मकै कमजोर भएको दिन पनि हो । अर्थात डलर बलियो भएपछि नेपाली मुद्रा भने कमजोर हुन्छ ।

खासगरी नेपाली मुद्रा भारतीय मुद्रासँग स्थिर विनिमय दरका कारण भारतीय मुद्राको अवमुल्यन हुँदा त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पर्छ । पछिल्लो समय भारतीय मुद्रा डलरको तुलनामा लगातार कमजोर हुँदा नै यसको असर नेपाली मुद्रामा परेको देखिन्छ । शुक्रबारसम्म प्रतिडलरको मूल्य भारतीय रुपैयाँ ८३.५९ पुगेको छ । यसैका कारण नेपाली मुद्राको पनि शुक्रबार अवमूल्यन हुनपुगेको हाे।

नेपालजस्तो आयातमुखी अर्थतन्त्र भएका देशका लागि डलरको मुल्य बढ्नुको प्रत्यक्ष असर वस्तुको मुल्यमा पर्ने बिषय विज्ञहरु बताउँछन् । नेपालले बढी पैसा खर्च गरेर डलर खरिद गर्ने र सोही डलरले विदेशी वस्तु खरिद गरेर उपभोग गर्ने अवस्था छ । यसले विभिन्न वस्तुको मुल्य बढेसँगै ढुवानी खर्च, करलगायतमा पनि वृद्धि गरिदिन्छ । तसर्थ डलरको मुल्य बढ्नुको प्रत्यक्ष सम्बन्ध उपभोक्ताको खल्तिसँग हुन्छ ।

तर, विदेशमा गई डलर आर्जन गरी नेपालमा पठाउनेहरुलाई भने यसले फाईदा पुर्याउँने विज्ञहरु बताउँछन् । उनीहरुले कम डलर पठाएर धेरै नेपाली पैसा पाउने भएपछि फाईदा हुने राष्ट्र बैंकका एक अधिकारीले बताए ।

खासगरी डलरको मुल्य बलियो हुनुले यति कुरामा मात्रै फरक पार्दैन । यसले विश्वबजारमा आपुर्ति भईरहेको सुन, सेयर पेट्रोलियम पदार्थलगायतमा पनि उत्तिकै प्रभाव पार्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL