Logo

एमाले उपाध्यक्ष पाण्डेले भने-अर्थमन्त्री पुनले हावादारी बजेट ल्याए कार्यान्वयन हुन सक्दैन

एमाले उपाध्यक्ष पाण्डेले भने-अर्थमन्त्री पुनले हावादारी बजेट ल्याए कार्यान्वयन हुन सक्दैन



काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक बर्षको बजेट अवास्तविकतामा आधारित रहेको बताए । आईतबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा उनले ट्रेजररी डेफिसिट र बजेट डेफिसिटलगायत बढिरहँदा यसले अर्थतन्त्रमा सहजताभन्दा झन अप्ठ्यारो र खतरा थपिरहेको भएपनि अर्थमन्त्री बर्षमान पुनले त्यसैमाथि एउटा हावादारी बजेट थपेको बताएका हुन् ।

नेपाली अर्थतन्त्रमा यस्तै अवस्था असार मसान्तसम्म नगद घाटासमेत हुनसक्ने उनको आँकलन छ । ‘यसो हुँदा अब कर्जा तिर्न नै कर्जा लिनुपर्ने अवस्था नआउला भन्न सकिन्न,’ उनले भने ।

कतिको बजेट ल्याउनुपर्छ, कति खर्च तोक्नुपर्छ, कतिको अनुमान गर्नुपर्छ भनेर नसोचेरै यसपल्टको बजेट आएकाले देश समस्यामै रहेको र देशको अर्थतन्त्रमा मन्दी नै छाएकै कुरालाई बजेटले मध्यनगर नगरेको उनको भनाई छ । गाउँगाउँमा फाइभ स्टार विद्यालय त बनायौं तर विद्यार्थी छैनन् । यस्ता कुरालाई बेलैमा ध्यान दिन नसकिए देश खाल्डोमा जाने निश्चित रहेको उनको भनार्ई थियो । यसपल्टका बजेटमा पनि अर्थमन्त्रीले आगामी अर्काे बर्षको बजेटसम्म आफ्नो पद नरहने निश्चित भएझैँ गरी कार्यकर्ता पाल्नेदेखिका कुराहरु यसै बजेटमा समेटिदिएको बताए ।

संकटग्रस्त सहकारीको कति रकम समस्यामा छ र कति तिर्नुपर्छ भन्ने कुरा पनि हालसम्म यकिन नगरीकनै बजेटमा रकम छुट्याईएकाले पनि अहिलेको बजेट हावादारीमा आधारित रहेको उनले बताए । यसपल्टका बजेटमा धेरैजसो तयारी नै नभएका र अनिश्चित आयोजनामासमेत रकम छुट्याईएको बताए ।

अर्थ मन्त्रालय पछिल्लो समय धेरै अनुशासनहिन भएको पनि उनले बताए । ५८५ अर्ब रुपैयाँ स्रोत सुनिश्चितता भनेर मात्रै वितरण गरिएको उनको आरोप छ । निर्माण व्यवसायीहरु आन्दोलित हुनुपर्ने अवस्था पनि यहि भएर आएको उनले बताए ।
‘हामी सीमामा रहेर खर्च नगर्ने हो भने अझै खाल्डोमा जान सकिने निश्चित छ,’ उनले भने, ‘पुँजीगत मात्रै नभएर चालु खर्च पनि उचित र सहि कुरामा खर्च नभएका कारण नेपालको अर्थतन्त्र अझ अप्ठ्यारोमा पर्दै गएको छ ।’

रचनात्मक तरिकाले बजेटको कार्यान्वयन गरियो भने मात्रै केहि उपलब्ध हुने नत्र उहि पुरानै रोग दोहोरिने निश्चित रहेको उनले बताएका छन् । विद्युतीय सवारीसाधनमा पनि कर बढाउने र इन्धनमा पनि कर बढाउनुभन्दा सडक प्रयोग गरेवापतको कर लिन सकियो भने मनासिव हुने उनले बताए ।

उनले घरजग्गा, सेयरबजार अनुत्पादक हो भन्दाभन्दै पनि अहिलेको अर्थतन्त्रमा कन्फीडेन्स ल्याउनका लागि यी क्षेत्रलाई खुला छोड्न सके यसले छोटो समयमा अर्थतन्त्रमा पैसाको प्रवाह बढ्ने र अर्काे बर्ष अर्थतन्त्रको वृद्धिमा थप सहयोग पुग्ने बताए । यसका लागि मौद्रिक नीतिले पनि हेर्नुपर्नै उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL