Logo

अर्थमन्त्रीको स्पष्टिकरण : स्पन्ज र विलेट दुबै कच्चा पदार्थ हुन्, करमा सन्तुलन मात्रै गरिएको हो कसैको दवावमा परिएको छैन

अर्थमन्त्रीको स्पष्टिकरण : स्पन्ज र विलेट दुबै कच्चा पदार्थ हुन्, करमा सन्तुलन मात्रै गरिएको हो कसैको दवावमा परिएको छैन



काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले स्पञ्ज आइरन र विलेट दुबै कच्चा पदार्थ भएकाले करमा सन्तुलन मात्रै गरिएको बताएका छन् । बुधबार पोष्ट बजेट छलफलका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले स्पञ्ज आईरनको कर कुनै पक्षको दवावमा नबढाएको बताएका हुन् ।

आगामी आर्थिक बर्षको बजेटमार्फत सरकारले विलेट उत्पादनमा प्रयोग हुने स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार महसुल १ प्रतिशतबाट बढाएर २.५ प्रतिशत बनाउँदा उद्योगीहरु रुष्ट बनेका थिए । यसैका लागि भन्दै नेपाल फलामे छड उद्योग संघले बुधबार नै पत्रकार सम्मेलन आयोजना गर्दै सरकारले विलेट उत्पादकको दवावमा स्पञ्ज आईरनको कर बढाएको आरोप लगाएका थिए ।

सोही कुराको स्पष्टिकरण दिँदै अर्थमन्त्रीले कुनै उद्योगीलाई काखा र कुनै उद्योगीलाई पाखा नगरिएको बताएका हुन् । ‘हामीले कुनै उद्योगीलाई पक्ष र विपक्ष गरेका छैनौँ वहाँहरुसँगै छलफलमा उठेका कुरालाई आधार बनाएर विलेट र स्पञ्ज आईरनको कर सन्तुलन गर्नुपर्छ भनेर हामी यो निष्कर्षमा पुगेका हौं,’ उनले भने, ‘यसले सबै उद्योगहरुलाई टिकाउ हुनसक्ने वातावरण बनाउनेछ ।’

यस्तै उनले कोही नेता वा ठुला व्यक्तिको दवामा पनि आयोजना थप्ने र कर हेरफेर गर्ने काम नगरिएको र बजेट स्वतन्त्र रहेको बताएका छन् ।

उनले हरेक निर्माचन क्षेत्रमा समान रुपमा बजेटको विनियोजन गरिएकोसमेत बताएका छन् । नेपालको वैदेशिक व्यापार बढाउनका लागि सर्वप्रथमतः उत्पादन बढाउनुपर्ने भएकाले उत्पादन बढाउनेतर्फ बजेट केन्द्रित भएको उनले बताए ।
यस्तै उनले पत्रकार सम्मेलनमा बोल्दै समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउनेसमेत बताएका छन् ।

यस्तै उनले यसपल्टको बजेट सबैले अनुमान गरेकोभन्दा फरक आएकोसमेत बताए । ‘धेरैजसो संचारमाध्यम र केहि व्यक्तिहरुले समेत १९ खर्ब बढीको बजेट आउने आँकलन गर्नुभएको थियो,’ उनले भने, ‘हामीले सबैलाई सरप्राईज दिनेगरी बजेट ल्यायौं ।’

यस्तै उनले आगामी आवको बजेटले अर्थतन्त्रमा आशा जगाउने बताएका छन् चालु आवको प्रक्षेपण नमिलेको अवस्थामा वस्तुपरक बनाउने प्रयास यसपटक भएको उनले बताए ।

बजेटले आम जनतामा आशा जगाउने प्रयास गरिएको भन्दै उनले युवामा देशभित्र अवसर खोज्ने प्रयास गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL