Logo

चीनमा युरोपेली कम्पनीहरूको विश्वास अहिलेसम्मकै न्यून स्तरमा, किन घट्दै छ चीनप्रतिको विश्वास ?

चीनमा युरोपेली कम्पनीहरूको विश्वास अहिलेसम्मकै न्यून स्तरमा, किन घट्दै छ चीनप्रतिको विश्वास ?



काठमाडौं । चीनले आफ्नो सुस्त अर्थतन्त्रलाई पुनरुत्थान गर्न विदेशी लगानी आकर्षित गर्न हरसम्भव प्रयास गरिरहेको छ । तर, विश्वका कम्पनीहरू विशेषगरी युरोपका कम्पनीहरू चीनमा लगानी गर्न खासै उत्साहित छैनन् । ५०० युरोपेली कम्पनीहरुको वार्षिक सर्वेक्षणले अधिकांश कम्पनीहरु चीनमा लगानी गर्न हिचकिचाउने गरेको खुलासा भएको छ ।

युरोपेली चेम्बर अफ कमर्स इन चाइनाको यो सर्वेक्षणअनुसार चीन अझै पनि लगानीका लागि युरोपेली कम्पनीहरूको शीर्ष रोजाइमा परेपनि विस्तारका लागि चीन जान चाहने कम्पनीको संख्या अहिले इतिहासमै सबैभन्दा कम भएको छ । सर्वेक्षणका अनुसार यो वर्ष मात्र ४२ प्रतिशत कम्पनीले चीनमा विस्तार गर्ने सोचमा छन् ।

चेम्बरले शुक्रबार जारी गरेको व्यवसायिक विश्वास सर्वेक्षणमा भनिएको छ, ‘व्यापारिक सम्भावनाहरू अहिलेसम्मकै सबैभन्दा निराशाजनक छन् । प्रतिस्पर्धाको चिन्ता बढ्दै गएको छ र नाफा र वृद्धिको अपेक्षा घटेको छ ।’ कम्पनीहरूले चिन्ता व्यक्त गरेका कुराहरूमा चिनियाँ सरकारको मनोवृत्ति पनि समावेश छ । चिनियाँ कम्पनीको हितका लागि नियम–कानुन बनाइएको हो वा स्पष्ट नभएकाले उद्योग र कर्मचारीमा अन्योलको वातावरण रहेको कम्पनीहरू बताउँछन् ।

युरोपेली चेम्बरका अध्यक्ष जेन्स एस्केलुन्डले लामो समयदेखि कम्पनीहरूले यस्ता चिन्ता व्यक्त गर्दै आएपनि अहिले सुस्त अर्थतन्त्रसँगै यी सबै कुरा मिलेर निकै ठूलो भएकाले उद्योगीहरूको विश्वास कमजोर भएको बताउँछन् । ‘कम्पनीहरूले महसुस गर्न थालेका छन् कि उनीहरूले स्थानीय बजारमा सामना गरिरहेका दबाबहरू, जस्तै प्रतिस्पर्धा वा घट्दो माग अब स्थायी हुँदै गइरहेको छ,’ एस्केलन्डले भने, ‘र यसले अब लगानी निर्णयहरूमा प्रभाव पारेको छ ।’

“चीनमा युरोपेली कम्पनीहरूको विश्वास अहिलेसम्मकै न्यून स्तरमा पुगेको छ । तर चीन छोडेर कहाँ जाने भन्ने सन्दर्भमा भारत उनीहरूको पहिलो रोजाइ होइन”

चिनियाँ सरकारले उपभोक्ताको विश्वास बढाउन धेरै कदम चालिरहेको छ । यसका लागि खर्च पनि गरिरहेको छ । अझै पनि, घट्दो रोजगारीका कारण उपभोक्ताहरू खर्च गर्न हिचकिचाइरहेका छन् । यो वर्षको पहिलो त्रैमासिकमा आर्थिक वृद्धिदर अनुमानभन्दा बढी ५.३ प्रतिशत रहेको भए पनि कुल गार्हस्थ्य उत्पादनको अधिकांश हिस्सा पूर्वाधार विकास र नयाँ कारखानामा सरकारी खर्चबाट आएको हो ।

चीनले सौर्य ऊर्जा प्यानल र विद्युतीय सवारीसाधन जस्ता उद्योग क्षेत्रमा ठूलो लगानी गरेको छ । जसका कारण मूल्य प्रतिस्पर्धा झनै चर्को बन्दै गएको छ र कम्पनीको नाफा घट्दै गएको छ । सर्वेक्षणमा परेका एक तिहाइ कम्पनीले आफ्नो आर्थिक क्षेत्र क्षमताभन्दा बढी पुगेको महसुस गरेका छन् । १५ प्रतिशत कम्पनीले सन् २०२३ मा चीनमा घाटा बेहोर्ने बताएका छन् । एस्क्लुन्ड भन्छन् कि विदेशी कम्पनीहरूलाई उत्पादन क्षमता चाहिँदैन तर आन्तरिक बजारमा माग छ । उनले भने, ‘विदेशी कम्पनीहरू जीडीपी हेडलाइनमा बढी चासो राख्दैनन् तर जीडीपी कहाँबाट आउँछ भन्नेमा बढी चासो राख्छन् ।’

करिब ४० प्रतिशत कम्पनीले या त चीनबाट आफ्नो व्यापार बन्द गरेको वा बन्द गर्ने सोचमा रहेको बताएका छन् । उनीहरुको पहिलो रोजाइ दक्षिण–पूर्वी एशिया र युरोप हो । त्यसपछि भारत र उत्तर अमेरिका आउँछ । यद्यपि अधिकांश कम्पनीहरू अर्थात लगभग ६० प्रतिशत हाल चीनमा बस्ने योजनामा छन् । तर, यो संख्या गत वर्षको तुलनामा कम हो ।

प्रतिवेदनमा भनिएको छ, ‘रुचाइएका लगानीको गन्तव्यको रूपमा चीनको आकर्षण घट्दै गएको छ । यदि व्यापारको वातावरण नसुध्रिएमा कम्पनीहरूले अन्य बजारहरूमा नयाँ अवसरहरू खोज्नेछन्, जहाँ उनीहरूले पारदर्शिता र स्थिरता पाउनेछन् ।’ करिब एक तिहाई कम्पनीहरू यस वर्ष चीनमा आफ्नो व्यापार बढनेमा आशावादी छन, जुन २०२३ को आधाभन्दा कम हो । नाफा बढ्ने अपेक्षा गर्ने कम्पनी भने १५ प्रतिशत मात्र छन् ।

चीनमा सञ्चालित ५०० युरोपेली कम्पनीमध्ये आधाभन्दा बढीले यस वर्ष त्यहाँको खर्च घटाउने विचार गरिरहेका छन् । यसमा आफ्ना कर्मचारी कटौती गर्ने सोचमा रहेका २६ प्रतिशत पनि पर्छन् । रोजगारी क्षेत्र पहिले नै ठूलो दबाबमा रहेकाले यो संख्या अझै बढ्न सक्ने प्रतिवेदनले जनाएको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL