अफगानिस्तानको राजधानी काबुलको सडक फेरिएको छ । अगस्ट १५, २०२१ मा तालिबानले काबुल कब्जा गरेपछि यो सहर अहिले धेरै सफा र सुरक्षित तर दुःखी देखिन्छ ।
काठमाडौं । तालिवानको नेतृत्वमा रहेको काबुल सहरको प्रशासनले ७० लाख नागरिकको जीवनस्तर सुधार गर्न पहल गरेको छ । यसअन्तर्गत आक्रामक कर सङ्कलन, सडक तथा सार्वजनिक भवनको अवस्था सुधार, सरसफाइलगायतका काम भइरहेको छ । सहरका सडकबाट लागुऔषध दुव्र्यसनी हटाउने र भिखारीहरूका बीचबाट व्यवसायी निकाल्ने काम भइरहेको छ । जीवनभर काबुलमा बस्ने ४३ वर्षीया जिया वली भन्छिन्, ‘लोकतान्त्रिक सरकार हटाएपछि र इस्लामिक खिलाफतको कब्जामा आएपछि हामीले धेरै परिवर्तनहरू देखेका छौं । सबैभन्दा ठूलो परिवर्तन भनेको हामी सुरक्षित महसुस गर्छौं ।’
भीडभाड, प्रदूषित र बन्दुकधारी मानिसहरूले भरिएको, यो शताब्दीयौं पुरानो सहर पहाडहरू बीच बसोबास गरेको छ । काबुल नदी यसको बीचबाट काटिएको छ । पश्चिमी देशहरूको समर्थनमा अघिल्लो सरकारको २० वर्ष लामो प्रशासनमा, विदेशीहरूमाथि तालिबान आक्रमणको निरन्तर धम्कीका कारण काबुललाई किल्लामा परिणत गरिएको थियो ।
काबुल खुल्यो
पुराना बंकरहरू अझै पनि शहरका धेरै भागहरूमा देखिन्छन् । त्यहाँ काँडे तारका बार र बाधाहरू छन्, जसको अर्कोपट्टि सशस्त्र सैनिकहरू उभिरहेका छन् । तर पछिल्ला दुई वर्षमा काबुलका धेरै गल्लीहरू यस सर्वकालीन युद्धबाट मुक्त भएका छन् । राष्ट्रपतिका पूर्व सल्लाहकार रहेका वास्तुविद् अमिन करीम पहिले धम्की दिनेहरू अहिले गार्ड बनेका र यसलाई आफ्नो सबैभन्दा ठूलो उपलब्धि मान्छन् ।
सर्वसाधारणका लागि बन्द गरिएका सयभन्दा बढी सडक अहिले खुला गरिएको नगरपालिकाका सांस्कृतिक मामिला सल्लाहकार नेमतुल्लाह बर्काजी बताउँछन् । साथै, शहर–ए–ना नामको केन्द्रीय पार्क बनाइएको छ, जहाँ धेरै हरितगृहहरू छन् र लाखौं फूलहरू फुलेका छन् । पूर्वराष्ट्रपतिकी छोरीको घर भत्काएर थप सडक बनाउन सय किलोमिटरभन्दा बढी नयाँ सडक निर्माण गरिएको बर्काजी बताउँछन् ।
अझै खतरा छ
यद्यपि, सुरक्षा खतरा पूर्ण रूपमा समाप्त भएको छैन र पहिले तालिबान आक्रमणहरूबाट जोगाउन प्रयोग गरिएका चौकीहरू अब इस्लामिक स्टेटको आक्रमणबाट सुरक्षा गर्न प्रयोग भइरहेका छन् । गृह मन्त्रालयका अनुसार सहरमा ६२ हजार क्यामेराले काम गरिरहेको छ । तर, यी सबै प्रयासका बाबजुद पनि ट्राफिक जाम र प्रदूषण नगर प्रशासनका लागि ठूलो चुनौती बनेको छ । फलफूल बिक्रेता २१ वर्षीय खलिलउल्लाह यसबाट सानातिना अपराधमा कमी आएको र अब राति अबेरसम्म काममा जान नडराउने बताउँछन् ।
तालिबानले निजी लगानी पनि परिचालन गरेको छ जुन २४ वटा चौरहाको पुनरुत्थानको लागि प्रयोग गरिने छ । तर, अझै पनि यी चोकमा व्यवस्था नभएकाले चारै तर्फबाट एकैपटक मानिस आउने–जाने गर्छन् । बर्काजीले प्रशासनले दश वर्षे योजना बनाएको र हरेक समस्या समाधान हुनेमा पूर्ण विश्वस्त रहेको बताउँछन् ।
कुनै उत्साह छैन
तर अहिले सहरको हावामा एक किसिमको उदासी छाएको धेरै बताउँछन् । तर, सहरको दुःखको मुख्य कारण पैसाको अभाव रहेको रमिशा बताउँछिन् । उनी भन्छिन्, “मानिसको अनुहारमा देखेको उदासी आर्थिक समस्याको कारण हो ।’ करिम भन्छन्, ‘पहिले बिहीबार साँझ र शुक्रबार राति अबेरसम्म जताततै मानिसको भीड हुन्थ्यो । रेस्टुरेन्टहरू खचाखच भरिपूर्ण हुन्थे । संगीत सुनिन्थ्यो । युवाहरू घुमफिर गरेको देखिन्थ्यो र मानिसहरू कन्सर्टमा जान यताउता हिडिरहेका हुन्थे ।’ अहिले त्यस्तो केही छैन । साँझ पर्दै जाँदा, काबुलका धेरै सडकहरू अँध्यारो र सुनसान हुन्छन्, मानौं कर्फ्यू लगाइएको छ । दिउँसो पनि सहरमा थोरै मात्रै महिला देखिन्छन् ।
परिवर्तनबाट सबैभन्दा बढी महिला प्रभावित भएका छन् । तालिबानले महिलामाथि धेरै प्रकारका प्रतिबन्ध लगाएको छ । तिनीहरूको काम र अध्ययन बाहिर धेरै प्रतिबन्धहरू छन् । काबुलको बजारको जीवन मानिने रंगीन पसल र ब्यूटी पार्लरहरू बन्द गरिएका छन्। महिलाहरूलाई पार्क, खेल मैदान र जिम आदिमा जान निषेध गरिएको छ । २९ वर्षीया हुमाइरा भन्छिन् कि पहिले खुलेर बस्ने महिलाहरु अहिले निकै रुढीवादी लुगा लगाएर टाउकोदेखि खुट्टासम्म छोपेर बस्छिन् । तर, हुमैरा पनि पहिलेको भन्दा सुरक्षित महसुस गर्छिन् किनकि उनलाई सडकमा कसैले दख दिदैन । अनुवाद गरिएको