Logo

चीनले विश्वभर वितरण गरेको ऋण फिर्ता आएन, १३ सय अर्ब डलर ऋणमा ८० प्रतिशतमा समस्या

चीनले विश्वभर वितरण गरेको ऋण फिर्ता आएन, १३ सय अर्ब डलर ऋणमा ८० प्रतिशतमा समस्या



चीनले आफ्नो व्यापार विस्तार गर्न एसियादेखि ल्याटिन अमेरिकासम्म १३ सय अर्ब डलर ऋण दिएको छ ।

काठमाडौं । आफ्नो महत्वाकांक्षी रोड एण्ड बेल्ट इनिसिएटिभ (बिआरआइ) अन्तर्गत चीनले विश्वभर २१,००० पूर्वाधार विकास परियोजनाहरू निर्माण र मद्दत गरिरहेको छ । यो पहललाई चिनियाँ राष्ट्रपति सी जिनपिङको विदेश नीतिको आधारशिला मानिन्छ । यो प्रायः दोस्रो विश्वयुद्धपछि युरोपको लागि बनाइएको मार्शल योजनासँग तुलना गरिन्छ ।

नयाँ प्रतिवेदनका अनुसार चीनले पछिल्लो दशकमा कम र मध्यम आय भएका देशहरूलाई पुल, बन्दरगाह र राजमार्ग निर्माण गर्न १३०० अर्ब डलर ऋण दिएको छ । बीआरआईले चीन र विश्व बीचको पुरानो व्यापार मार्गहरू पुर्नस्थापित गर्न मद्दत गरेको छ । त्यसैले यो पहललाई नयाँ सिल्क रुटको नाम पनि दिइएको छ । यसले चीनको विश्वव्यापी प्रभाव पनि बढाएको छ । सबैलाई जानकारी नै छ, अमेरिका र युरोपेली संघ यसबाट धेरै खुसी छैनन् ।

ऋण फिर्तामा समस्या

बिआरआईका आलोचकहरू यस परियोजनाका कारण धेरै विकासोन्मुख देशहरू ऋणको चकलेटमा फसेका छन् र उनीहरूको कार्बन फुटप्रिन्ट पनि बढेको बताउँछन् । विशेष गरी यस्तो समयमा जब वातावरणीय चिन्ताको बीचमा यसलाई कम गर्नमा जोड दिनुपर्छ । फिलिपिन्स जस्ता धेरै देशहरू बीआरआईबाट अलग भएका छन् ।

धेरै विज्ञहरूले चीनले पूर्वाधार आयोजनाको काम सरकारी कम्पनीलाई मात्रै दिने र यसले गर्दा लागत यति बढ्छ कि ऋण लिने देशलाई अवस्था सम्हाल्न गाह्रो हुने गरेको औँल्याएका छन् । यस परियोजनामा चीनले लगातार अर्बौं डलर लगानी गरिरहेको छ । तर, अब ऋण फिर्ता लिने समय पनि आएको छ । विगत दश वर्षमा चीनले दिएको धेरै ऋण फिर्ता हुन सकेको छैन ।

आर्थिक कठिनाइमा ऋणीहरू

अमेरिकी अनुसन्धान संस्था एडडाटाले यसै महिना प्रकाशित गरेको प्रतिवेदनमा चीनले विकासोन्मुख देशहरूमा गरेको ८० प्रतिशत लगानी आर्थिक समस्यामा रहेको अनुमान गरेको छ । प्रतिवेदनमा ११ सय अर्ब डलर बक्यौता ऋण रहेको अनुमान गरिएको छ जसमा ब्याज पनि समावेश छ । तर, कति ऋण अहिलेसम्म भुक्तानी भएको छैन भन्ने तथ्यांक भने प्रतिवेदनमा दिइएको छैन । तर, बक्यौता भुक्तानी बढ्दै गएको प्रतिवेदनमा छ । प्रतिवेदनका लेखकहरूले १ हजार ६ सय ९३ बीआरआई आयोजना जोखिममा रहेको र ९४ आयोजना या त रद्द वा रोकिएको पनि उल्लेख गरेका छन् । प्रतिवेदनका लेखकहरूले यो पनि फेला पारेका छन् कि केही अवस्थामा, चीनले ऋण तिर्न ढिलाइको जरिवानाको रूपमा ब्याज दर तीन प्रतिशतबाट बढाएर ८.७ प्रतिशत गरेको छ ।

चीनले न्यून र मध्यम आय भएका देशलाई वार्षिक ८० अर्ब डलर ऋण दिइरहेको एडडाटाले पत्ता लगाएको छ । त्यसैले अमेरिका पनि यो दौडमा पछाडि पर्न चाहँदैन र उसले यसरी हरेक वर्ष करिब ६० अर्ब डलर खर्च गरिरहेको छ । यसको धेरै जसो यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनले सञ्चालित निजी परियोजनाहरूमा जान्छ । यसमा श्रीलंकाको कोलम्बो पोर्टमा निर्माण भइरहेको विश्वकै गहिरो शिपिंग कन्टेनर टर्मिनल पनि समावेश छ । यसका लागि ५० करोड डलर खर्च हुनेछ ।

श्रीलंका अहिले गम्भीर आर्थिक संकटबाट बाहिर निस्कने प्रयासमा छ । चीनबाट लिएको ऋण तिर्न बाध्यता पनि बाधक बन्दै गएको छ । श्रीलंकाको दक्षिणपूर्वी हम्बनटोटा बन्दरगाह विकास गर्न चीनले ऋण दिएको थियो । तर, यो आयोजनाले ऋण तिर्न पर्याप्त नाफा कमाउन सकेको छैन ।

दुई वर्षअघि जी७ देशहरूले ‘बिल्ड ब्याक बेटर वल्ड’ नामक परियोजना घोषणा गरेका थिए । यो पनि चीनको बढ्दो प्रभावलाई रोक्न अमेरिका र उसका सहयोगीहरूले अर्को प्रयास हो । गत महिना मात्र युरोपेली संघले आफ्नो ग्लोबल गेटवे कार्यक्रमको लागि पहिलो शिखर सम्मेलन आयोजना गरेको थियो । यसलाई चीनको बीआरआईको विकल्प र पृथ्वीको दक्षिणी भागमा युरोपको प्रभाव कायम राख्ने प्रयासको रुपमा हेरिएको छ ।

यस सम्मेलनमा युरोपेली, एसियाली र अफ्रिकी सरकारहरूबीच ७० अर्ब युरोको सम्झौतामा हस्ताक्षर भएको थियो । युरोपेली संघले संवेदनशील खनिज, हरित ऊर्जा र यातायात कोरिडोरसँग सम्बन्धित परियोजनाहरूमा पनि मद्दत गर्नेछ र यो सहयोग भविष्यमा ३०० बिलियन यूरोसम्म पुग्न सक्छ ।

युरोपेली आयोगका प्रमुख उर्सुला भोन डे लेनले ग्लोबल गेटवे परियोजनाले विकासोन्मुख देशहरूलाई पूर्वाधार परियोजनाहरूका लागि वित्त जुटाउन ‘राम्रो विकल्पहरू’ दिने बताएकी छन् । तर, एडडेटाको रिपोर्टले अमेरिका र युरोपेली संघलाई चीनसँग प्रतिस्पर्धा गर्न सजिलो नहुने पनि बताएको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL