काठमाडौं । गएको असोज महिनामै विभिन्न माध्यममार्फत १० करोड बढीपटक भुक्तानी भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको असोज महिनामा मात्रै १० करोड २२ लाख ७९ हजार पटक भुक्तानीकाे काराेबार भएको हो । यो चालु आवको ३ महिनामा सबैभन्दा उच्च हो । यसअघिका महिना साउन र भदौमा क्रमशः ९ करोड ६१ लाख र १० करोड १३ लाख पटकमात्रै कारोबार भएको थियाे ।
यसरी भुक्तानी हुँदा काराेबार रकम पनि असोजमै बढी भएको देखिएको छ । राष्ट्र बैंकका अनुसार भुक्तानी प्रणालीका विभिन्न माध्यममार्फत असोज महिनामा मात्रै ४५ खर्ब ५१ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो चालु आवका अन्य महिनाको तुलनामा बढी हो । अर्थात यसअघि साउन र भदौ महिनामा क्रमशः ४३ करोड ३२ लाख र ३६ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको देखिन्छ ।
खासगरी यो बर्ष नेपालीको विशेष पर्व मानिने दशैं र तिहार नै कार्तिकमा परेपछि असोज महिनामा बैंकबाट पैसा झिक्ने, तलव वितरण गर्ने, सरकारी दशैं खर्च पनि निकासा भएपछि असोजमा भुक्तानी बढेको राष्ट्र बैंकका अधिकारी बताउँछन् । यो बर्षको दशैंका लागि भन्दै कर्मचारीको दशैं भत्तासमेत असाेजमा निकासा गरेको थियो । जसअनुसार पनि यो समयमा भुक्तानी बढी भएको देखिन्छ ।
यो अवधिमा सबैभन्दा बढी भुक्तानी रियल टाईम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमार्फत भएको छ । यो प्रणालीमार्फत असोजमा मात्रै ७२ हजार ६ सय २० पटक गरी २७ खर्ब ५९ अर्ब बढीको भुक्तानी भएको हो । यो अघिल्लो महिना भदौको तुलनामा ५ खर्ब ७४ अर्ब रुपैयाँले बढी हो ।
यस्तै यसै अवधिमा इलेक्ट्रोनिक चेक क्लियरिङमार्फत ५ खर्ब ३० अर्ब ४० करोड रुपैयाँ बराबरको भुक्तानी हुँदा कनेक्ट आइपीएसमार्फत ४ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ ।
असोज महिनामा एटिएममार्फत हुने भुक्तानी भने ९६ अर्ब रुपैयाँ बराबर पुगेको हो । गएको भदौ महिनाको तुलनामा असोज महिनामा सबैजसो भुक्तानी माध्यममार्फत हुने भुक्तानी बढेपनि इन्टरनेट बैंकिङमार्फत हुने भुक्तानीमा भने गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुुसार असोज महिनामा भदौको तुलनामा इन्टरनेट बैंकिङमार्फत भएको भुक्तानी १ अर्ब १४ करोड रुपैयाँले घटेको हो । भदौ महिनामा इन्टरनेट बैंकिङमार्फत १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको भुक्तानी भएपनि असोजमा घटेर ११ अर्ब ८० करोड रुपैयाँमा सिमित भएको हो ।
डिजिटल भुक्तानी प्रणालीका अन्य माध्यम मोबाइल बैंकिङ, वालेट, आइपीएस, इकमर्श, क्युआरमा आधारित भुक्तानीलगायत पनि असोज महिनामा उल्लेख्य भएको छ ।
राष्ट्र बैंकका अनुसार भदौ महिनाको तुलनामा मात्रै असोजमा वालेटमा हुने भुक्तानी १ अर्ब ७० करोड रुपैयाँले बढ्दा मोबाईल बैंकिङमार्फत हुने भुक्तानी ३५ अर्ब ५६ करोड रुपैयाँले बढेको हो । यस्तै यसै अवधिमा क्युआरमा आधारित भुक्तानी भने ५ अर्ब ६५ करोड रुपैयाँले बढेर ३६ अर्ब २१ करोड रुपैयाँ पुगेको हो ।