काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ३ महिनामै नेपालले ३ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पहिलो ३ महिनामा गत आवको सोही अवधिको तुलनामा नेपालले ७ अर्ब ७० करोडले व्यापारघाटा बढाउँदै ३ खर्ब ६६ अर्ब रुपैयाँ बढी पुर्याएको हो ।
गत आवको सोही अवधिमा नेपालले ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको थियो । यस अवधिमा नेपालले गत बर्षभन्दा ७ अर्ब ७० करोड रुपैयाँ बढी व्यापारघाटा व्यहोरेको छ ।
यस्तै यसअघि आयात, निर्यात र व्यापारघाटा समेत ओरालो लागेको नेपालको वैदेशिक व्यापारमा यसपल्ट भने आयात १.६९ प्रतिशतले बढ्दा निर्यात भने २.२६ प्रतिशतले घटेको छ ।
भन्सार विभागले आईतबार मात्रै सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको असोजसम्म नेपालले ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँ बढीको मालवस्तु आयात गरेको छ । यो गत आवको यहि अवधिको तुलनामा १.६९ प्रतिशतले बढी हो । अर्थात गत आवको यहि अवधिमा नेपालले ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँ बराबरको मात्रै वस्तु आयात गरेको थियो ।
यसै अवधिमा नेपालले गर्ने निर्यातको व्यापार भने ओरालो लागेको विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार गत आवको पहिलो ३ महिनासम्म ४१ अर्ब ८२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको नेपालले चालु आवको सोही अवधिमा निर्यात घटाएर ४० अर्ब ८७ करोडमा सिमीत भएको छ ।