काठमाडौं । चालु आर्थिक वर्षको दोश्रो महिना भदौसम्म शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको छ ।
यसैगरी, चालु आर्थिक वर्षको दुई महिना भदौसम्म चालु खाता २३ अर्ब ५० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३६ अर्ब ८४ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २८ करोड ९० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ७७ लाखले बचतमा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.७ प्रतिशतले कमी आई रु ८५ करोड ८ लाख कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु ३ अर्बले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु १ अर्व ४६ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु. ८० करोड ९७ लाखले ऋणात्मक रहेको थियो ।