काठमाडौं । भारतको नयाँदिल्लीमा जारी जी–२० शिखर सम्मेलनको साँझ घोषणापत्र जारी भएको छ । सम्मेलनले भारत–मध्यपूर्व–युरोप इकोनोमिक करिडोर घोषणा गरेको छ । करिडोर अन्तर्गतका परियोजना निर्माण भएमा भविष्यमा भारत, अरेबियन गल्फ र युरोपको सहकार्य ऐतिहासिक हुने दाबी गरिएको छ ।
विज्ञका अनुसार करिडोरअन्तर्गत निर्माण हुने रेल लिंकबाट भारत र युरोपको व्यापार ४० प्रतिशत छिटो हुने सम्भावना छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको उपस्थितिमा भएको घोषणालाई दिल्लीमा ऐतिहासिक र चिनियाँ बिआरआईमाथिको झड्का भनिएको छ ।
बाइडेनले यो भविष्यमुखी सहकार्य भएको भन्दै खुसी व्यक्त गरेका छन् । यस्तै घोषणापत्रमा बलियो, दीर्घकालीन, सन्तुलित र समावेशी वृद्धि, दिगो विकास लक्ष्यको प्रगतिलाई गति दिने, दीर्घकालीन भविष्यको लागि हरित विकास सम्झौता, एक्काइसौँ शताब्दीका लागि बहुपक्षीय संगठनहरू तथा बहुपक्षवादलाई पुनर्जीवित गर्ने जस्ता विषय समेटिएका छन् ।
यता युक्रेनले जी–२० शिखर सम्मेलनको घोषणमा कुनै गर्व गर्न लायक विषय नसमेटिएको प्रतिक्रिया दिएको छ । घोषणापत्रमा युक्रेन संकट वा रुसमाथि दबाब बढाउने खालका कुनै पनि कुरा नसमेटिएको भन्दै उसले यस्तो प्रतिक्रिया दिएको हो ।