Logo

जी-२० आजदेखि : विश्वका विशाल अर्थतन्त्र भएका देशको जमघट, पुटिन र सीको अनुपस्थितिले के फरक पार्छ ?

जी-२० आजदेखि : विश्वका विशाल अर्थतन्त्र भएका देशको जमघट, पुटिन र सीको अनुपस्थितिले के फरक पार्छ ?



काठमाडौं । भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा आजदेखि जी २० शिखर सम्मेलन अुरु हुँदैछ । दई दिन आयोजना हुने युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर सम्मेलनमा भाग लिन विश्वका शक्तिराष्ट्रका नेताहरू नयाँदिल्लीमा भेला भइरहेका छन् ।

१५ वर्षअघिको आर्थिक सङ्कटका बेला विश्वअर्थतन्त्रलाई व्यवस्थापन गर्ने उद्देश्यले उदीयमान अर्थतन्त्रको साझा सङ्गठनका रुपमा स्थापना भएको जी २० को नयाँदिल्ली संस्करणमा सहभागी हुने विभिन्न देशका राष्ट्रपति र प्रधानमन्त्री सवार विमानहरू इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भइरहेका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ अनुपस्थित हुने शिखर सम्मेलनमा कुनै मूल मुद्दामा सहमति जुट्नेमा आशङ्का व्यक्त गरिएको छ । शिखर सम्मेलनको पूर्व सन्ध्यामा साझा दस्तावेज तयार गर्ने तथा सहमति जुटाउन भारतलाई धौधौ परेको छ । शीर्ष नेतृत्वले अनुमोदन एवं हस्ताक्षर गरी सम्मेलनको अन्त्यमा जारी गर्ने संयुक्त वक्तव्यमा अझै ठोस सहमति जुट्न सकेको छैन ।

चीनका राष्ट्रपतिको अनुपस्थितिको कारण खुलाइएको छैन । अमेरिकी नेतृत्वको यो समूहलाई असफल पार्दै जी २० स्थानमा आफू अनुकूल अर्को संस्था बनाउने आशय बेइजिङले व्यक्त गर्दै आएको छ । जी २० शिखर सम्मेलनका बेला चिनियाँ नेता सी भेनेजुएला र जाम्बियाका राष्ट्रपतिको स्वागतमा व्यस्त भइरहेका छन् ।

युक्रेनमाथि हठात आक्रमण गरेर युद्ध अपराधको आक्षेप खेपिरहेका रुसका राष्ट्रपतिको अन्तर्राष्ट्रियस्तरमा निन्दा र कूटनीतिक भत्र्सना भएको छ तर उनले आफ्ना सहयोगीका साथमा युक्रेन युद्ध आवश्यक एवं औचित्यपूर्ण भएको दाबी गर्दै आएका छन् ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनक जी २० शिखर सम्मेलनमा फेरि पनि रुसी राष्ट्रपतिले आफ्नो अनुहार देखाउन नचाहेको बताउँछन् । आफ्नो कूटनीतिक वहिर्गमन एवं राष्ट्रपति भवनको एकान्तमा बस्नुपर्ने परिस्थितिको निर्माण उनले स्वयम् गरेको प्रधानमन्त्री सुनक उल्लेख गर्छन् । जी २० का अन्य नेताहरूले भने सम्मेलनमा आफूहरू उपस्थित भएर रुसी नेता पुटिनले निम्त्याएको विनाशको क्षतिपूर्तिका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शिखर सम्मेलनमा भाग लिन एयरफोर्स वानमा देश छाडिसकेका अमेरिकी राष्ट्रपति जो बाइडेनले जी २० ले अझै विश्व अर्थव्यवस्थामा योगदान गर्न सक्ने बताएका छन् । यद्यपि चीनले अमेरिकी कम्पनी आइफोनको उत्पादन आइफोनमाथि प्रतिबन्ध लगाउने तयारी गरेको अफवाह फैलिरहेको छ । एप्पलको आइफोनलाई संसारभर मान्यता दिइएको छ । राष्ट्रपतिका साथ एयरफोर्स वानमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ती अफवाहमा कुनै सत्यता नरहेको बताएका छन् ।

जी २० ले अन्तर्राष्ट्रिय वित्तीय स्थायित्व, जलवायु परिवर्तनका दुष्प्रभाव न्यूनीकरण र दिगो विकास जस्ता विश्वव्यापी अर्थतन्त्रसँग सम्बन्धित प्रमुख विषयलाई केन्द्रमा राखेको छ । जी २० मा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, (युरोपेली सङ्घका सदस्य फ्रान्स, जर्मनी र इटाली) भारत, इण्डोनेशिया, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्कीए, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य छन् ।

‘रुसी र चिनियाँ राष्ट्रपतिको अनुपस्थितिले केही फरक पर्दैन

भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा अयोजना हुने युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर सम्मेलनमा चीन र रुसका राष्ट्रपतिको अनुपस्थितिले केही फरक नपार्ने टिप्पणी एक जना पश्चिमा कूटनीतिकज्ञले गरेका छन् ।

भारतका लागि जर्मनीका राजदूत फिलिप एकरम्यानले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङको जी २० शिखर सम्मेलनमा हुने अनुपस्थितिले कुनै फरक नपर्ने बताएका हुन् ।

एएनआईसँगको अन्तर्वार्तामा राजदूत एकरम्यानले राष्ट्रपति पुटिन अघिल्लो शिखर सम्मेलनमा सहभागी नभकाले यसपटकको उनको अनुपस्थितिलाई अचम्म मान्नुपर्ने केही कारण नभएको बताए । ‘चिनियाँ राष्ट्रपति सीको अनुपस्थितिले भने हामी अलिकति विस्मित भयौं तर उहाँको प्रतिनिधित्व चिनियाँ प्रधानमन्त्रीले गर्ने भएपछि यसले खासै फरक पार्दैैन’, चिनियाँ धारणा प्रधानमन्त्रीबाट प्रस्तुत हुने उल्लेख गर्दै उनले भने ।

एउटा देशको राष्ट्रपतिको अनुपस्थितिले यो शिखर सम्मेलनलाई छायामा पर्न दिन नहुनेमा जोड दिदै जर्मनीका राजदूतले जी २० को स्थायी सदस्यताको लागि अफ्रिकी सङ्घलाई आमन्त्रित गर्ने भारतको निर्णयको स्वागत गरे । उनले युरोपेली सङ्घसँगै अफ्रिकी सङ्घलाई पनि समावेश गर्ने भारतीय प्रयासलाई खुला हृदयले समर्थन गर्ने बताए । भारतको अध्यक्षताले जी २० लाई नयाँ उचाइमा पुर्‍याएको उनले उल्लेख गरे ।

शिखर सम्मेलनको पूर्वसन्ध्यामा एक आलेख प्रकाशन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मानव केन्द्रित विश्व विकासमा जोड दिएका छन् । उनले साझा भविष्यका निम्ति विश्वका सबै मानवबीच एकता हुनुपर्ने, विश्ववासी एक परिवारका रुपमा हातेमालो गर्दै साझा प्रगति र समृद्धि प्राप्तिका लागि अघिबढ्नु पर्नेमा जोड दिएका हुन् ।

प्रधानमन्त्री मोदीले आर्थिक एवं औद्योगिक रुपमा कम विकसित देशहरूलाई एकैस्थानमा उभ्याउने ‘ग्लोबल साउथ’ को अवधारणा तथा अफ्रिकाका विकासशील मुलुकका सीमान्तकृत आकांक्षालाई मूल प्रवाहमा समाहित गर्न अपरिहार्यं भएको विचार व्यक्त भारतका प्रधानमन्त्रीले दिगो विकासका लक्ष्य प्राप्तिमा भएका प्रगतिबारे जी २० शिखर सम्मेलनमा समीक्षा हुने र लक्ष्यहरूको अक्षरसः कार्यान्वयनका लागि कार्यदिशा निर्धारण गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL