Logo

काठ र फर्निचर आयातमा बर्षेनी बाहिरिन्छ अर्बौं रकम, नेपालको काठ जंगलमै कुहिन्छ

काठ र फर्निचर आयातमा बर्षेनी बाहिरिन्छ अर्बौं रकम, नेपालको काठ जंगलमै कुहिन्छ



काठमाडौं । वन तथा वातावरण मन्त्रालयका अनुसार नेपालको कुल क्षेत्रफलको करिव आधा भूभाग वन क्षेत्रले ओगटेको छ । यो वन क्षेत्रबाट बार्षिक करोडौं क्युविक फिट काठ, दाउरा, पशुआहार उत्पादन पनि हुन्छ । तर, नेपालमा पशु आहारदेखि दाउरा र फर्निचरजन्य वस्तु नै बार्षिक अर्वाैं रुपैयाँ बराबरको आयात गर्नुपर्ने बाध्यता छ ।

हुन त नेपाललाई आवश्यकभन्दा बढी काठजन्य वस्तु उत्पादन क्षमता भएको वनक्षेत्र नेपालसँग छ । सोही अनुसार व्यवस्थित तरिकाले यसको प्रयोग र सदुपयोग गर्न नसकिँदा भने नेपालले बार्षिक दशौं अर्ब रुपैयाँ बढीको काठ र काठजन्य वस्तु आयात गर्नुपरेको मन्त्रालयका प्रवक्ता बद्रिराज ढुंगाना बताउँछन् ।

मन्त्रालयसँग बार्षिक कति वनजन्य वस्तु उत्पादन हुन्छ र कति खपत र आयात हुन्छ भन्ने यकिन तथ्यांक नभएपनि औपचारिक अध्ययन अनुसार नेपालमा मागअनुसार पुग्ने काठ उत्पादन हुने क्षमता रहेको उनको भनाई छ । ‘एकिन तथ्यांक त छैन तर, बार्षिक ६ करोड देखि साढे ६ करोड क्युविक फिटसम्म काठजन्य वस्तु नेपालमा खपत हुने देखिएको छ,’ उनले भने, ‘तर, हाल यसको स्वदेशी उत्पादन भने जम्मा ३ करोड क्युविक फिट बरारबरको मात्रै हुन्छ बाँकी माग बराबरको काठ आयात गरेर धान्नुपर्ने अवस्था छ ।’

उनले नेपालमा काठ आयात हुने गरेको तथ्यांक पनि भन्सार विभागकै तथ्यांकलाई आधिकारिक मान्ने गरिएको बताएका छन् ।
यता भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७९/८० मा मात्रै विभिन्न देशहरुबाट नेपालमा करिव १० अर्ब रुपैयाँ बढीको काठ र काठजन्य वस्तु आयात भएको देखिएको छ ।

यसरी विश्वबजारबाट नेपालमा आयात हुने काठजन्य वस्तुमा टेबल, कुर्ची, पलंग, कच्चा काठ अर्थात काठका गेली, प्लाईउड, टुथपिक, बोतलको विर्काेसम्म छन् । यसरी काठका साना साना अर्थात सामान्य वस्तुहरु विदेशबाट आईरहँदा नेपालको वनजंगलको काठ भने सडेर खेर जाने गरेको काठ उद्योगीहरु बताउँछन् ।

पछिल्लो समय स्वयं सरकारले नै विदेशी काठका वस्तुहरुको प्रयोगलाई बढावा दिएपछि पनि नेपालको सट्टा विदेशी काठको आयात चुलिँदै गएको नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष सुजिल श्रेष्ठ बताउँछन् ।

उनका अनुसार सरकारले निजी क्षेत्रलाई वनको टेण्डरमा भाग लिन नपाउने नीति बनाउँदा निजी क्षेत्रले वनको काठ उठाउन पाउँदैन यसको असर पन िनेपालमा यसको आयातमा देखिएको उनको भनाई छ । ‘यसको नीति नै परिवर्तन गर्नुपर्छ भन्ने हाम्रो माग छ,’ उनले भने, ‘यो नीति परिवर्तन गर्न मन्त्रिज्यु सकारात्मक हुनुहुन्छ ।’

उनले सरकारका धेरैजसो नीतिनियमहरु केहि परिवर्तन गर्न सकिएमात्रै पनि नेपालमा उत्पादन हुने काठनजन्य वस्तु उपोगलाई बढावा दिन सकिने बताए । यसले आयात प्रतिश्थापनमा पनि सहयोग गर्ने उनको भनाई छ ।

चालु आर्थिक बर्षको पहिलो महिना साउनमा मात्रै पनि नेपालमा करिव १ अर्ब रुपैयाँ बराबरको काठ र काठजन्य वस्तुहरु आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । खासगरी नेपालमा यस्ता वस्तुहरु धेरैजसो भारत र थाईल्याण्डलगायतका देशबाट आउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL