एक नयाँ अध्ययनले बढ्दो तापक्रम र खाद्य असुरक्षाबीचको प्रत्यक्ष सम्बन्ध फेला पारेको छ। अत्याधिक गर्मीका कारण केही दिनमै करोडौं मानिस खानाबाट वञ्चित हुने अध्ययनमा देखिएको छ ।
काठमाडौं । विश्वमा कीर्तिमान तोड्ने गर्मीको बीचमा यो नयाँ अध्ययनले गर्मी चरम भयो भने केही दिनमै दैनिक ज्यालादारीमा गुजारा चलाउने करोडौं मानिस भोकमरीमा धकेल्ने देखाएको छ । उदाहरणका लागि, यदि भारतमा चरम तापक्रम एक हप्तासम्म रह्यो भने, थप ८ मिलियन मानिसहरूले गम्भीर खाद्य असुरक्षाको सामना गर्न सक्ने सम्भावना छ । अध्ययनको नतिजा ‘नेचर ह्युमन बिहेभियर’ जर्नलमा प्रकाशित भएको छ ।
आयमा तत्काल प्रभाव
अध्ययनका लागि १५० देशको निरीक्षण गरिएको थियो । विशेषगरी उष्णकटिबंधीय र उप–उष्णकटिबंधीय क्षेत्रमा रहेका देशहरूमा अध्ययनको केन्द्र बनाइएको थियो । चरम गर्मीमा खाना नपाउने सम्भावना १ प्रतिशतभन्दा कम भएमा यी १५० देशका लाखौँ पुरुष, महिला र बालबालिका भोकै बस्न सक्छन् । विश्व बैंकको अनुमान छ कि २०२२ मा विश्वव्यापी जनसंख्याको लगभग ३० प्रतिशतले मध्यमदेखि गम्भीर खाद्य असुरक्षाको सामना गर्नुपर्यो । अहिलेसम्म खाद्यान्न उपलब्धतामा तातोको प्रभाव बाली उत्पादनमा मात्र सीमित थियो, जसको असर महिनौं वा वर्षपछि देखिन्थ्यो ।
तर यो नयाँ अध्ययनले यो प्रभाव आम्दानीसँग जोडिएमा तुरुन्तै प्रभाव देख्न सकिने देखाएको छ । अध्ययनका प्रमुख लेखक अक्सफोर्ड विश्वविद्यालयकी क्यारोलिन क्रोगर भन्छिन्, ‘आज गर्मी बढ्यो भने केही दिनभित्रै मानिसले काम गर्न नसकेकाले खाद्यान्न असुरक्षाको समस्या उत्पन्न हुने सम्भावना छ । उनीहरुले कमाउन सकदैनन् र खाना किन्न सकदैनन् । त्यस्ता नतिजाहरू रोजगारीहरूमा धेरै देखिन्छन् जहाँ आय उत्पादकत्वसँग नजिक छ, जस्तै खेतमा बाली काट्ने वा उत्पादनको प्रति एकाइ आम्दानी हुने काममा ।
जति धेरै गर्मी, त्यति नै क्षति
उदाहरणका लागि, पश्चिम बङ्गालमा, इँटा बोक्ने महिलाहरूलाई उनीहरूले एक दिनमा उठाउने इँटाको सङ्ख्या अनुसार पारिश्रमिक पाउँछन्। गर्मीका कारण थोरै इँटा उठाउन बाध्य भएका दिन उनीहरुको आम्दानीमा ५० प्रतिशतसम्म नोक्सानी हुने गरेको छ । यस अध्ययनको नतिजालाई केही थप रिपोर्टहरूको सहायताले बुझ्न सकिन्छ । सिरियामा बस्ने लोहार मुराद हद्दाद, बिहान सबेरै उठ्छन् र त्यसपछि उनी र उनका पाँच भाइहरू दिनको उच्च तापक्रमबाट बच्न पालैपालो भारी काम गर्छन् । हद्दाद भन्छन्, ‘यस गर्मीले हामीलाई मारिरहेको छ । मेरा छ जना छोराछोरी छन् र म मुश्किलले उनीहरूको हेरचाह गर्न सक्छु । तर काम गरेन भने म बाँच्न सक्दिन ।’
क्रोगर भन्छन्, ‘कम आम्दानी भएका देशहरूमा यसको प्रभाव अझ बलियो हुन्छ, कृषिमा आधारित रोजगारी र बढी जोखिममा रहेको रोजगारी भएका देश गम्भीर रुपमा पभावित हुन्छन ।’ क्रोगरले भर्खरै तातो हप्ताको अनुभव गरेका व्यक्तिहरूले स्वास्थ्य समस्याहरू र आफ्नो हालको आम्दानीमा बाँच्न कठिनाइहरू अनुभव गर्ने सम्भावना बढी रहेको पत्ता लगाइन ।
पोषणमा पनि प्रभाव
चरम गर्मीका कारण धेरै मानिसहरुको आम्दानीमा ह्रास आएको छ । यी प्रभावहरू संचयी हुन्छन्, अर्थात्, हप्तामा जति धेरै तातो दिनहरू हुन्छन्, प्रभाव त्यति नै बलियो हुन्छ । सन २०२१ मा, ४७० बिलियन सम्भावित श्रम घण्टा (विश्वभर प्रति व्यक्ति लगभग डेढ हप्ताको काम बराबर) चरम गर्मीको कारण नष्ट भयो ।
यी परिणामहरू यस्तो समयमा आएका छन् जब खाद्यान्न मूल्यहरू निरन्तर मुद्रास्फीतिको चपेटामा छन् । यसबाहेक विश्वको सबैभन्दा ठूलो चामल निर्यात गर्ने देश भारतले बालीनालीमा क्षति पुगेको भन्दै निर्यातमा प्रतिबन्ध लगाएको छ । तर आपूर्ति र मूल्य मात्र समस्या होइन । अन्वेषकहरूले यो पनि फेला पारे कि बढ्दो तापक्रमले धेरै जसो मुख्य बाली र दालहरूमा आवश्यक पोषक तत्वहरू गुम्न सक्छ जुन संसारका अधिकांश मानिसहरू निर्भर छन् । ‘हामीले गत एक वा दुई वर्षमा धेरै गर्मीको रेकर्ड तोडेका छौं, त्यसैले म पक्का छु कि हामीले देखेका केहि चीजहरू खराब हुन सक्छ । तर त्यहाँ केही चीजहरू पनि छन् जसले मद्दत गर्न सक्छ,’ क्रोगर भन्छिन्–‘लघु बीमा र श्रम कानूनजस्ता विषयहरुले संकटमा सहयोग गर्न सक्छ ।’
संयुक्त राष्ट्र संघको आईपीसीसी जलवायु विज्ञान सल्लाहकार समितिका अनुसार, यो सम्भव छ कि २०८० सम्ममा प्रत्येक वर्ष कम्तिमा ३० कथित घातक तातो दिनबाट करोडौं मानिसहरू प्रभावित हुनेछन् । विश्वले ग्लोबल वार्मिङलाई २ डिग्री सेल्सियसभन्दा कम राख्ने पेरिस जलवायु लक्ष्य हासिल गरे पनि यो हुन सक्छ । अनुवाद गरिएको