काठमाडौं । गत आर्थिक बर्ष २०८०/८१ भर नेपालमा साढे ५४ अर्ब रुपैयाँ बढीको विदेशी लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक बर्षभरी ५४ अर्ब ६५ करोड ६९ लाख २८ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो ।
यस अवधिमा विदेशी ४ सय ६५ परियोजनामा उक्त लगानी प्रतिवद्धता आएको हो । यसरी आएको प्रतिवद्धतामध्ये ३ सय २७ परियोजनामा ३८ अर्ब ४० करोड रुपैयाँ र स्थापित १ सय ३८ उद्योगमा थप लगानी थप्न भन्दै १६ अर्ब २४ करोड रुपैयाँ बढीको लगानी प्रतिवाद्धता आएको हो ।
विदेशी लगानीकर्ताहरुले नेपालमा स्थापित भईसकेका कम्पनीहरुमा भने सेयर पर्चेज एग्रिमेन्ट, सेयर सब्सक्रिप्सन एग्रिमेन्ट र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्टमार्फत लगानी भित्र्याउँछन् । यस्तै नयाँ लगानी भित्र्याउने विदेशी लगानीकर्ताहरुले भने कम्पनी नै नयाँ स्थापना गरेर लगानी भित्र्याउने गर्दछन् ।
यस्तै यस अवधिमा सबैभन्दा बढी लगानी प्रतिवद्धता साना परियोजनामार्फत आएको छ । उद्योग विभागका अनुसार गत आर्थिक बर्षभरी साना २ सय ९७, मझौला २५ र ठुला ५ परियोजनामार्फत विदेशी लगानी प्रतिवद्धता आएको हो ।
यस्तै गत आर्थिक बर्षभरी आएको कुल विदेशी लगानी प्रतिवद्धतामध्ये सेवा र पर्यटन क्षेत्रमा समान १ सय ३४ परियोजनामार्फत लगानी प्रतिवद्धता आएकाे छ । यस्तै उत्पादनमुलक क्षेत्रका २९, सूचना तथा संचार क्षेत्रका १६, पूर्वाधार क्षेत्रका १० र कृषि र उर्जा षेत्रका एक एक परियोजनामार्फत विदेशी लगानी प्रतिवद्धता आएको हो ।
यसै अवधिमा नेपालमा लगानी गरेर कम्पनी अघि बढाईरहेका विदेशी लगानीकर्ताहरुले नेपालबाट लार्भाश फिर्ता पनि सोही अनुसार लगेका छन् । उद्योग विभागका अनुसार गत आर्थि बर्षभरी नेपालबाट विदेशी लगानीकर्ताहले २ अर्ब ३३ करोड रुपैयाँ, २१ लाख २६ हजार बढी अमेरिकी डलर, ३५ करोड ६६ लाख ९७ हजार भारतीय रुपैयाँ र ४९ हजार युरो रोयल्टीवापतको लिएका छन् । यस्तै विदेशी कम्पनीले नेपालबाट लाभांश भन्दै गत आर्थिक बर्षभरी १३ अर्ब ८४ करोड ४८ लाख २२ हजार रुपैयाँ फिर्ता लिएका छन् ।