काठमाडौं । सोमबारदेखि चालु आर्थिक बर्ष अर्थात आव २०८०/८१ सुरु भएको छ । यससँगै सरकारले बजेटमार्फत ल्याएका नयाँ करनीतिहरु पनि लागू भएका छन् । गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसदमा चालु आवका लागि बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमै घोषणा गरिएका केहि करका दरहरु आजैदेखि लागू हुने भएका छन् ।
आज साउन १ गतेदेखि वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने व्यव्स्था लागू भएको छ । यस्तै विलासिता कर पनि आजैदेखि कार्यान्वयनमा आएको छ । जसमा पाँचतारे वा सोभन्दा माथिका होटेल, रेस्टुरेन्ट तथा रिसोर्टहरुले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता कर लागू भएको छ ।
सरकारले १० लाखभन्दा बढीको बहुमूल्य धातुमा पनि २ प्रतिशतकै दरले विलासिता शुल्क लगाउन गरेको घोषणासमेत आजैदेखि लागू भएको छ ।