Logo

खर्च र राजस्व उठौतीको दवाबमा सरकार, एक दिनमै उठ्ला २ खर्ब राजस्व ?

खर्च र राजस्व उठौतीको दवाबमा सरकार, एक दिनमै उठ्ला २ खर्ब राजस्व ?



काठमाडौं । आज चालु आर्थिक बर्षको अन्तिम दिन । विभिन्न संघ संस्थाका भुक्तानीहरु र राजस्व संकलन गरेर क्लोजिङ गर्ने दिन पनि । तर चालु आवको अन्तिम दिनसम्म सरकारको खाता भने नाजुक देखिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको शनिबारसम्मको तथ्यांक अनुसार चालु आवको अन्तिम दिनसम्म पनि सरकारले दुईपटकसम्म संशोधन गरेको लक्ष्य भेटटउनै मुस्किल पर्ने अवस्था देखिएको छ ।

सरकारले चालु आर्थिक बर्षका लागि भन्दै १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट सिलिङ ल्याएको थियो । तर, यो लक्ष्य पुरा नहुने देखिएपछि दुईपटक संशोधन गरेर यसलाई १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँमा पुर्याएको थियो ।

अर्थात चालु आवभरी १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ खर्च गर्नुपर्नेमा शनिबारसम्म जम्मा १४ खर्ब १९ अर्ब ७१ करोड रुपैयाँ मात्रै खर्च गर्न सकेको छ ।

यसरी हेर्दा सरकारले चालु आवमा आफ्नो संशोधित लक्ष्य भेट्टाउन आज अर्थात आईतबार मात्रै एक दिनमै ८५ अर्ब २७ करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिएको छ । हालसम्म सरकारले चालुतर्फ १० खर्ब ७ अर्ब, पुँजीगततर्फ २ खर्ब २३ अर्ब र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ८९ अर्ब रुपैयाँ खर्च गरेको छ ।

दोस्रोपटकको संशोधित अनुमानअनुसार चालु खर्च १० खर्ब ४३ अर्ब ४९ करोड अर्थात् सुरुआती विनियोजनको ८८ दशमलव १८ प्रतिशत, पुँजीगत खर्च २ खर्ब ५८ अर्ब ३४ करोड अर्थात् सुरुआती विनियोजनको ६७ दशमलव ९१ प्रतिशत र वित्तीय व्यवस्था तर्फ २ खर्ब ३ अर्ब २६ करोड अर्थात् सुरुआती विनियोजनको ८८ दशमलव २९ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

यता राजस्व संकलनमा पनि सरकार चुकेको छ । चालु आर्थिक बर्षको बजेटमार्फत १४ खर्ब ५८ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको सरकारले उक्त लक्ष्य भेट्टाउन नसक्ने भएपछि राजस्व संकलनको लक्ष्य पनि दुईपटक संशोधन गरेको थियो । जस अनुसार चालु आवमा सरकारले ११ खर्ब ८९ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

तर, चालु आवको १ दिनमात्रै बाँकी रहँदा सरकारले ९ खर्ब ८६ अर्ब ३१ करोड रुपैयाँ मात्रै राजस्व संकलन गर्न सकेको छ ।
यो संशोधित लक्ष्यभन्दा १ खर्ब ९३ अर्ब रुपैयाँले कम हो । अर्थात चालु आर्थिक बर्षको अन्तिम दिन आईतबारमात्रै सरकारले आफ्नो राजस्व लक्ष्यमा पुग्न १ खर्ब ९३ अर्ब रपैयाँ संकलन गर्नुपर्ने छ ।

चालु आवको एक दिन बाँकी हुँदा सरकारले राजस्व ९ खर्ब २९ करोड, अनुदान ४ अर्ब ८० करोड र अन्य राजस्व ५२ अर्ब ४१ करोड रुपैयाँ संकलन गरेको छ ।

यो अघिल्लो लक्ष्यको तुलनामा क्रमशः राजस्व लक्ष्यको ६६ प्रतिशत र अनुदान लक्ष्यको जम्मा १३ प्रतिशत मात्रै हो । दोस्रो पटकको संशोधित लक्ष्यअनुसार चालु आर्थिक वर्षमा सरकारले १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ अर्थात् सुरुआती विनियोजनको ८३ दशमलव ९० प्रतिशत मात्रै बजेट खर्च हुने अनुमानित लक्ष्य तय गरेको थियो ।

चालु आर्थिक वर्षमा राजस्व सङ्कलन ११ खर्ब ७९ अर्ब ४४ करोड बराबर हुने संशोधित अनुमान छ । यो वार्षिक लक्ष्यको ८४ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्
MBL