Logo

राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट पारित, उत्पादनशील क्षेत्रमा लगानी गर्ने अर्थमन्त्रीको प्रतिवद्धता

राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट पारित, उत्पादनशील क्षेत्रमा लगानी गर्ने अर्थमन्त्रीको प्रतिवद्धता



काठमाडौं । राष्ट्र ऋण उठाउने विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय सभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई मूल रूपमै सुझावविना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।

विधेयकमाथिको दफावार छलफलमा सांसदहरूले सार्वजनिक ऋण बढ्दै गएको र कुल गार्हस्थ्य उत्पादन (जिडिपी) अनुपातमा सार्वजनिक ऋणको प्रतिशत बढिरहेकाले त्यस्तो ऋणको उपादेयता र प्रयोगमाथि प्रश्न उठाएका थिए । सार्वजनिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगाई पुँजी सिर्जना गरिनुपर्ने सुझाव उनीहरूले दिएका थिए । उक्त बैठकले आर्थिक विधेयक, २०८० पनि पारित गरेको थियो । राष्ट्रिय सभाको अर्को बैठक २०८० साल साउन १ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।

यसैगरी, अर्थमन्त्री डा. महतले राष्ट्रिय सभामा सम्बोधन गर्दै ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा सरकार सचेत रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयकको दफावार छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा सरकार सचेत रहेको बताएका हुन् ।

ऋण लिएर कहाँ खर्च गर्ने र प्रतिफल कसरी सुनिश्चित गर्ने भन्नेमा सरकार गम्भीर रहेको उनको भनाइ छ । उनले आवश्यकताको आधारमा ऋण लिनुपर्ने बताए। उत्पादन वृद्धि र पुँजी निर्माणमा सघाउने गरी ऋण लिनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्