Logo

अर्थमन्त्रीले भने-बैंकका ठूला लगानीकर्ताले मात्रै कर्जा लिन थाले, बैंकर जिम्मेवार नहुँदा अर्थतन्त्रमा समस्या

अर्थमन्त्रीले भने-बैंकका ठूला लगानीकर्ताले मात्रै कर्जा लिन थाले, बैंकर जिम्मेवार नहुँदा अर्थतन्त्रमा समस्या



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकहरु ठुला लगानीकर्तालाई कर्जा दिनमै व्यस्त रहेको बताएका छन् । उनले पछिल्लो समय उद्योगी र बैंकर एकै हुँदा आफ्नै बैंकबाट आफ्नै उद्योगमा लगानी गर्ने प्रवृत्ति बढेको भन्दै लगानीको संरचना परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

मंगलबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘बैंकर्स र उद्योगी एउटै व्यक्ति हुने नेपालको वास्तविकता हो । सामान्यतः संसारमा यस्तो हुँदैन । आफ्नै बैंकमा जम्मा भएको पूँजी आफ्नै उद्योगमा लगानी गर्ने परिस्थिति हामीकहाँ छ’ उनले भने, ‘आउँदा दिनमा त्यसलाई ध्यानमा राखेर लगानीको संरचनालाई परिवर्तन गरेर मध्यम र साना लगानीकर्तामा वित्तीय संस्थाहरूले पूँजी प्रवाह गर्नेछन् भन्ने मलाई लागेको छ ।’

उनले पछिल्लो समय बैंकिङ क्षेत्रले उत्पादनशील क्षेत्रमा लगानी गरेन, अनुत्पादक क्षेत्रमा धेरै लगानी भयोलगायतका गुनासाहरु बढेकाले त्यसतर्फ विशेष ध्यान पुर्याउन बैंक वित्तीय क्षेत्रको ध्यानाकर्षण गराएका छन् ।

यस्तै उनले पछिल्लो समय बैंकरहरु जिम्मेवार नहुँदा अर्थतन्त्रमा समस्या आएकोसमेत बताएका छन् । वित्तीय संघ संस्थाले सुविधा पाएनौं मात्र नभनेर जिम्मेवारीप्रति कर्तव्यनिष्ठ र आफूलाई नियमन गर्न सके देशको अर्थतन्त्र स्वस्थ्य प्रतिस्पर्धाको बाटोमा अघि बढ्ने उनको भनाई थियो ।

उनले आफ्नो हितका लागि मात्र संघसंस्था नबनेको बताउँदै वित्तीय संस्थालाई प्रतिस्पर्धी बनाउनैपर्नेमा मन्त्री डा. महतको जोड थियो । उनले ब्याजदर लगायत अन्य विषयमा मिलोमतोमा निर्धारण हुन थाल्यो भने ढिलोचाँडो त्यसले समस्या सिर्जना गर्ने बताए ।

बैंक र वित्तीय संस्थाहरुले उपभोक्ताको अधिकार र सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको भनाई थियो ।
उनका अनुसार बैंकिङ क्षेत्रको यति धेरै वृद्धि हुँदाहुँदै पनि अप्ठ्यारामा परेका बैंकलाई राष्ट्र बैंकको सहयोगमा सुधार भएको उनको भनाई छ । यससँगै कृषि विकास बैंकमा सुधारको आवश्यकता रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै उनले अहिले लघुवित्त र सहकारीका क्षेत्रमा केही समस्या देखिएको बताए । आगामी आवको प्रस्तावित बजेटमा सहकारीलाई नियमन घेराभित्र ल्याउने निकायको स्थापना गर्ने प्रस्ताव गरिएको बताउँदै उनले यसलाई छिट्टै कार्यान्वयनमा ल्याउने जानकारी दिएका छन् ।

पछिल्लो समय वित्तीय संस्थाहरु धेरै भएको र साना वित्तीय संस्थाले पनि ठूलो स्वरुप ग्रहण गरेको भन्दै उनले केहि वित्तीय संस्था निक्षेपकर्ताको काबु बाहिर गएको जानकारी दिए ।

यसबारेमा राष्ट्र बैंकले उचित निर्णय लिनेछ भन्ने लागेको बताउँदै उनले यो समस्याबाट बाहिर निस्कने क्रममा रहेकोसमेत जानकारी दिएका छन् ।

उनले राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो गर्दा मूल्यवृद्धिमा समस्या हुने भन्दै डराएको बताउँदै पछिल्ला तथ्यांकले भने मौद्रिक नीति खुकुलो बनाउन सहयोग गर्ने बताए ।

‘मूल्यवृद्धि नियन्त्रण गर्ने मात्र मौद्रिक नीतिको लक्ष्य होइन, समग्र अर्थतन्त्रको स्थायित्व र वृद्धि गराउने पनि लक्ष्य यसको हुनुपर्छ,’ उनले भने, ‘आउँदो आर्थिक वर्षको सुरुमै मौद्रिक नीतिले यी कुरालाई सम्बोधन गर्नेछ । बैंकसँग तरलता भए पनि पूँजीप्रवाह नभएको अवस्थालाई यसले सम्बोधन गर्नेछ । बैंकिङ क्षेत्रले पनि आफ्नो तहबाट त्यहाँभित्र रहेको समस्याहरु समाधानको बाटो खोज्नुपर्छ । ठूला लगानीकर्तामा मात्रै पूँजी प्रवाह गर्ने, मध्यम र साना लगानीकर्ताहरु पूँजी प्रवाह नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL