Logo

नक्कली वस्तु रोक्न नयाँ कदम, आयात हुने हरेक तयारी सामानमा वितरक र पैठारीकर्ताको लेबल अनिवार्य

नक्कली वस्तु रोक्न नयाँ कदम, आयात हुने हरेक तयारी सामानमा वितरक र पैठारीकर्ताको लेबल अनिवार्य



काठमाडौं । भन्सार विभागले अब विदेशबाट आयात हुने हरेक तयारी वस्तुमा आयातकर्ता र वितरकको लेबल अनिबार्य गरेको छ । चालु आर्थिक बर्षको आर्थिक ऐनमा समेटिएको आयात भएका हरेक तयारी वस्तुमा लेबल अनिबार्य गरिने बुँदालाई कार्यान्वयन गर्नका लागि विभागले सम्बन्धित व्यापारी व्यवसायीहरुलाई यसका लागि निर्देशन दिएको हो ।
विभागले शुक्रबार मात्रै एक सूचना जारी गर्दै अब विदेशबाट आयात हुने कुनैपनि तयारी वस्तुमा पैठारीकर्ता र वितरक दुबैको लेबल हुनुपर्ने बताईएको छ ।

पछिल्लो समय चोरी पैठारी बढेको र नक्कली वस्तुहरुको विक्री वितरण बढेको कुरालाई मध्येनजर गर्दै यस्तो व्यवस्था लागू गरिएको विभागका सूचना अधिकारी पुण्य विक्रम खड्का बताउँछन् । उनका अनुसार बजारमा छ्यापछ्याप्ती नक्कली वस्तु भेटिने र ग्राहकले त्यो वस्तु खरिद गरेर घर लिएपछि नक्कली सावित भई फिर्ता ल्याउँदा फिर्ता नहुने प्रवृत्ति बढिरहेको । सोही प्रवृत्तिलाई रोक्न र वस्तु विक्री व्यवस्थित गर्न यो व्यवस्था लागु गरिएको हो ।

यस अधि यस बिषयमा विभिन्न व्यापारीहरुले यो कार्यान्वयन नै गर्न नसकिने बताउँदै आएका थिए । तर, व्यापारीहरुसँग चरणवद्ध छलफलपश्चात उक्त निर्णय कार्यान्वयनको चरणमा पुगेको उनले बताए । ‘हामीले धेरैपटक उद्योगी व्यवसायीसँग छलफल गर्याैं,’ उनले भने, ‘विभिन्न चरणको छलफलपछि व्यवसायीलाई सहजीकरणका लागि हामीले यस्तो वस्तुमा यस्तो ठाउँमा लेबल राख्न सकिने भनेर तोकिदिएका छौं ।’

यसअघि विदेशबाट आयात हुने खाद्य वस्तु, औषधिलगायतका वस्तुहरुमा पैठारीकर्ताको लेबल अनिवार्य थियो । अब भने सबैजसो वस्तुमा पैठारीकर्ताको मात्रै नभएर वितरकको पनि लेबल आवश्यक भएको छ ।

भन्सार विभागका अनुसार कुनै वस्तुमा पैठारीकर्ता र वितरकको लेबल राख्नुपर्दा दुबैको नाम, ठेगाना, वेबसाईट, इमेल र एक्जिम कोड खुलाएको हुनुपर्नेछ ।

यस्तै कुनै वस्तुमा लेबल लगाउँदा नेपाली वा अंग्रेजी भाषामा हुनुपर्ने, वितरक धेरै भएको अवस्थामा वस्तुमा लेबल वितरक स्वयंले लगाउन सक्ने व्यवस्था विभागले गरिदिएको छ ।

यो व्यवस्था साउनपछि आयात हुने वस्तुमा लागु हुने बताईएको छ । साउनपछि आयात भएका वस्तुहरुमा दुवै पक्षको वा पैठारीकर्ता मात्रै भए एक पक्षको लेबल नभएको अवस्थामा त्यस्तो वस्तुलाई अवैध मानिने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL