Logo

आर्थिक वर्ष सकिनै लाग्दा अर्थमन्त्रीलाई कर उठाउने चटारो, जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन

आर्थिक वर्ष सकिनै लाग्दा अर्थमन्त्रीलाई कर उठाउने चटारो, जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन् । बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरुलाई उनले यो बर्ष र आगामी आर्थिक बर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्न निर्देशन दिएका हुन् ।

उनले सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, ब्यक्तिगत फाइदा नहेर्नलगायत निर्देशन दिँदै कर्तव्यबाट पन्छिने छुट कसैलाई नहुने र जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिएका छन् ।

‘व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम कसैबाट नहोस,’ उनले भने, ‘राम्रो काम गर्ने साथीहरुलाई धन्यवाद दिन चाहन्छु ।’

अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम भनेको श्रोत जुटाउनु भएको बताउँदै उनले राज्यको सम्पूर्ण आवश्यकतालाई सम्बोधन गर्ने श्रोत जुटाउने जिम्मेवारीमा मन्त्रालय रहेको बताएका छन् । त्यसमा सबैभन्दा ठूलो हिस्सा राजस्व हुने उनको भनाई छ ।

‘अहिले राजस्वको हिस्साले हामीलाई पुगिरहेको छैन, राजस्वको हिस्साको प्रतिशतलाई बढाउनुपर्ने आवश्यकता छ’ उनले भने, ‘हाम्रो तलब भत्ता, सामाजिक सुरक्षा र पूँजीगत खर्चको आवश्यकतालाई राजस्वले योगदान दिन सकोस् भन्ने हामी चाहन्छौं । यद्यपि हामीले त्यो पूरा गर्न सकिरहेका छैनौं ।’

राजस्वको दायरा बढाउँछौं भनेर मात्र नहुने बताउँदै उनले अर्थतन्त्रले गति लिनुपर्नेमा जोड दिए । त्यसका लागि सरकारले बजेट प्रस्तावमार्फत् पनि पूँजीगत खर्चलाई चलायमान बनाउने कुरा गरेकोसमेत उनले बताए ।
यसका लागि भन्सार र आन्तरिक राजस्व उठाउने कुरामा गम्भीर ध्यान दिनुपरेको उनको भनाई छ ।

‘सधैं हामी भन्सारमा आधारित राजस्वमा निर्भर हुन सकिँदैन । आन्तरिक ऋण र विदेशबाट प्राप्त हुने ऋण उत्पादनमुखी क्षेत्रमा लगानी हुनुपर्छ । यो सुरु भइसकेको पनि छ । आउँदा दिनमा आन्तरिक राजस्वको धेरै ठूलो जिम्मेवारी छ’ उनले भने, ‘त्यसैले यसलाई कसरी विस्तार गर्ने भन्ने विषयमा चासो र चिन्ता छ । यसमा आन्तरिक राजस्व विभागको भूमिका महत्वपूर्ण हुन्छ ।’

उनले भ्याटलाई हामी गम्भीरतापूर्वक लिने बताए । सेवाग्राहीले राज्यलाई तिर्ने रकम पनि दुरुपयोग हुनु गम्भीर बिषय भएकाले सेवाग्राहीले राज्यलाई छुट्टयाएको रकम अरुले प्रयोग गर्ने गरी छुट दिन नमिल्ने उनको भनाई छ ।
‘व्यवसायीले बिक्रीको क्रममा भ्याट उठाउँछन्, त्यो राजस्वमा विना शर्त दाखिला गर्नुपर्छ,’ उनले भने, ‘यसलाई आन्तरिक राजस्व विभागले गम्भीरताका साथ लिनुपर्छ । विभिन्न खाले दुरुपयोग रोक्नुपर्छ, बेरुजु तदरुकताका साथ उठाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL