Logo

खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि घट्यो, सेवा क्षेत्रको बढेको बढ्यै

खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि घट्यो, सेवा क्षेत्रको बढेको बढ्यै



काठमाडौं । चालु आर्थिक बर्षको बैशाख महिनामा समग्र खाद्य तथा पेय पदार्थको मूल्यवृद्धिमा केहि ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको १० महिनाको तथ्यांक अनुसार बैशाखमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५.५४ प्रतिशत पुगेको छ । गएको चैत महिनामा यसको मुद्रास्फीति ६.९३ प्रतिशत पुगेको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आवको वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो ।

यस्तै यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको छ । चालु आवको बैशाखमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २६.६१ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ ।

यता गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.७५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १३.०८ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.२७ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति गएको चैत महिनामा ८.४२ प्रतिशत थियो । बैशाख महिनामा काठमाडौं उपत्यकामा ७.६८ प्रतिशत, तराईमा ७.१५ प्रतिशत, पहाडमा ७.५७ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७९ वैशाख महिनामा यी क्षेत्रहरुमा क्रमशः ७.३९ प्रतिशत, ८.१५ प्रतिशत, ७.८९ प्रतिशत र ८.२१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्