सन् २००८ को विश्वव्यापी मन्दीपछि चीनको अर्थतन्त्र विश्वको वृद्धिको इन्जिन बनेको छ । तर नयाँ मन्दीको आँकलन भइरहँदा यो प्रश्न पनि महत्वपूर्ण छ कि चीनले फेरि विश्वलाई बचाउन सक्षम हुनेछ ?
काठमाडौं । विश्व अर्थतन्त्र मन्दीको संघारमा उभिएको छ । सबै प्रमुख अर्थतन्त्रहरू स्थिरताका लागि सघर्ष गरिरहेका छन् । सन् २००८ को मन्दीपछि विश्वको अग्रणी बनेको चिनियाँ अर्थतन्त्रको अवस्था पनि कमजोर छ । पश्चिमा विज्ञहरूले चीनको अर्थतन्त्रमा सुधार आउने अपेक्षा गरेपनि चीनले यसपटक पनि विश्वलाई मन्दीबाट साँच्चै बचाउन सक्ला कि नसक्ला भन्ने प्रश्न उठिरहेको छ ।
गत वर्ष डिसेम्बरमा, चीनले शून्य–कोविड नीति त्याग्यो र त्यसबेलादेखि यसको अर्थतन्त्रको पांग्रा घुम्न थाल्यो । तर यी पाङ्ग्राको घुम्ने गति निकै सुस्त छ । अप्रिलसम्म चीनमा आयातमा ७.९ प्रतिशतले तीव्र गिरावट आएको छ भने निर्यात पनि ८.५ प्रतिशतले सुस्त गतिमा बढेको छ । यो मार्चमा १४.८ प्रतिशत थियो । अप्रिलमा उपभोक्ता मूल्यमा भएको वृद्धि दुई वर्षमा सबैभन्दा कम थियो, जबकि थोक मूल्यहरू पनि घटेको थियो । अर्कोतर्फ, बैंकहरूको नयाँ कर्जाको दर भने सोचेभन्दा बढी घटेको छ । गत महिना चिनियाँ बैंकहरूले ७१८.८ अर्ब युआन वा करिब १०४ अर्ब डलर ऋण दिएका थिए, जुन मार्च महिनामा कुल ऋणको पाँचौं भाग पनि होइन।
के चीनको स्वर्ण युग सकियो ?
लन्डनको स्कूल अफ ओरिएन्टल एण्ड अफ्रिकन स्टडीजका चाइना इन्स्टिच्युटका निर्देशक स्टिभ सङ भन्छन्, ‘चीनको अर्थतन्त्र ध्वस्त हुने होइन, तर सन् २०१० मा जस्तो दोहोरो अंकको बृद्धि हुने सम्भावना पनि कम छ ।’ चीनको अर्थतन्त्र सुधार भयो भने विश्वका अन्य भागमा पनि विगत डेढ वर्षदेखि बढ्दो ब्याजदरको मार झेल्दै आएका र सुस्त गतिमा रहेका अर्थतन्त्रले पनि गति पाउने अपेक्षा गरिएको छ ।
चीनको अर्थतन्त्रले सन् २००८–०९ को विश्वव्यापी मन्दीबाट बाहिर निस्कन विश्वलाई धेरै सहयोग गरेको थियो । यसको मुख्य कारण पूर्वाधार योजनाहरूको विकासको लागि कच्चा पदार्थको आयात थियो । जसले पश्चिमी देशहरूलाई मद्दत गर्यो । तर, विगतका वर्षहरूमा भएका विकास निर्माणका कामका कारण चीन ऋणको पहाडमुनि दबिएको छ । मार्चमा, अन्तर्राष्ट्रिय मुद्रा कोषले चेतावनी दियो कि चीनको स्थानीय सरकारहरूको मात्र ऋण ६.६ ट्रिलियन युआन वा देशको कुल जीडीपीको आधा पुगेको छ । सङ भन्छन् कि चीनको आर्थिक सुधारको लागि प्रार्थना गरिरहेका पश्चिमी नीति निर्माताहरूले अब ‘पूर्वाग्रह बिना नयाँ राजनीतिक र आर्थिक वास्तविकतालाई हेर्नुपर्छ ।’
चीन ताइवानमा एक्लो
ताइवानमा चीनको आक्रमणको धम्कीले पश्चिमाहरूलाई सताएको छ । बेइजिङ र मस्कोबीचको सुध्रिँदै गएको सम्बन्धले पनि यो समस्या थपेको छ । युक्रेन युद्धका कारण पश्चिमी अर्थतन्त्रहरू पहिले नै समस्यामा परेका अवस्था छ । सिंगापुरको इनसिड बिजनेस स्कूलमा अर्थशास्त्र पढाउने प्राध्यापक पुशन दत्त भन्छन्, ‘ताइवानका कारण युद्धको बढ्दो तनाव ठूलो परिवर्तनको वाहक हुनेछ । विश्वका धेरै अन्तर्राष्ट्रिय कम्पनीहरूले चीन छोड्नेछन् । यसको निर्यात बजार बन्द हुनेछ । प्रतिबन्ध लगाइनेछ ।’
डोनाल्ड ट्रम्पको सरकारको समयमा चीनसँग अमेरिकाको आर्थिक सम्बन्धमा बढेको तनाव बाइडेन प्रशासनको समयमा पनि जारी रह्यो । प्रतिशोधात्मक कारबाहीको एक भागको रूपमा, अमेरिकाले चिनियाँ कम्पनीहरू र अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले राष्ट्रिय सुरक्षाका आधारमा सेमिकन्डक्टर लक र कृत्रिम (आर्टिफिसियल) प्रविधिको विकास गरेकोमा चीनको आलोचना पनि गरेको छ ।
सङ भन्छन्, ‘चिनियाँ राष्ट्रपति सी जिनपिङको आक्रामक विदेश नीतिका कारण अमेरिका र अन्य पश्चिमी मुलुकले चीनसँगको आर्थिक सम्बन्ध घटाउन थालेका छन्, जसको असर चीनको तीव्र गतिमा बढिरहेको अर्थतन्त्रमा देखिएको छ ।’ पश्चिमी नीति निर्माताहरूले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभलाई आफ्नो हितका लागि खतराको रूपमा हेर्छन् । प्रायः नयाँ सिल्क रोड भनिने, ८४० बिलियन डलरको १५० देशहरूमा सडक, पुल, बन्दरगाह र अस्पतालहरूको विकासमा खर्च गर्ने चिनियाँ योजना छ । तर, पश्चिमा देशहरुले यी योजनाहरुको नाममा चीनले विकासोन्मुख देशहरुलाई ऋणको जालमा फसाएर पश्चिमी देशहरुसँगको सम्बन्धलाई कमजोर बनाउँदै लगेको बताउँछन् । गत महिना, युरोपेली केन्द्रीय बैंकका अध्यक्ष क्रिस्टिन लागार्डले पनि विश्वव्यापी अर्थतन्त्र चीन र अमेरिकाबीच विभाजित हुनसक्ने आशंका व्यक्त गरेकी थिइन् जसले आर्थिक वृद्धिलाई असर गर्ने र मुद्रास्फीति बढाउनेछ ।
चीनको विकास नीति
चीनको आर्थिक वृद्धिदर सुस्त हुनुको अर्को कारण उसको आर्थिक नीतिमा आएको परिवर्तनलाई पनि मानिएको छ । चीनले आफैंमा यस्तो परिवर्तन गरिरहेको छ, जसअन्तर्गत आर्थिक विकास संख्यामा नभई गुणस्तरमा आधारित छ । तर, यी सुधारहरू समय लाग्नेछ । दत्त भन्छन्, ‘चीन सस्तो उत्पादकबाट भविष्यका उद्योगहरू जस्तै एआई, रोबोटिक्स र सेमीकन्डक्टरहरूमा विश्वको अग्रणी अर्थतन्त्रतर्फ उन्मुख हुँदै गइरहेको छ’, दत्त भन्छन् ।
सङ भन्छन् कि राष्ट्रपति सीले आफ्नो अर्थतन्त्रलाई बलियो र थप गतिशील बनाउन चाहन्छन्, तर उनको नीतिहरूले अक्सर उल्टो प्रभाव पाछ । ‘सीले सत्तामा आफ्नो पकड बलियो बनाएर र गल्तीहरू स्वीकार नगर्दा, टेक्नोक्रेसीका लागि अर्थतन्त्रलाई पुनरुत्थान गर्न आवश्यक परिवर्तनहरू गर्न व्यावहारिक रूपमा असम्भव भएको छ,’ उनी भन्छन् । यद्यपि, आईएमएफले अनुमान गरेको छ कि चीन आगामी पाँच वर्षसम्म विश्व अर्थतन्त्रको सबैभन्दा ठूलो वाहक बनिरहनेछ । चीनले विश्वको वृद्धिको २२.६ प्रतिशत हिस्सा ओगटेको छ जुन अमेरिकाको ११.३ प्रतिशत योगदानको दोब्बर हो । तर, पश्चिमी संसारमा कमजोर मागले चीनको निर्यातलाई पनि असर गर्नेछ । अनुवाद गरिएको