Logo

कसिलो मौद्रिक नीतिका कारण अर्थतन्त्र शिथिल भएको हो यसलाई खुकुलो बनाउनुपर्छ : अर्थमन्त्री डा. महत

कसिलो मौद्रिक नीतिका कारण अर्थतन्त्र शिथिल भएको हो यसलाई खुकुलो बनाउनुपर्छ : अर्थमन्त्री डा. महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले मौद्रिक नीति कसिलो हुँदा अर्थतन्त्रमा समस्या निम्तिएको बताएका छन् । बुधबार प्रतिनिधि सभाकाे बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको उत्तर दिँदै उनले पुँजीगत खर्च कम हुनु र मौद्रिक नीति कसिलो हुनु नै अर्थतन्त्रको मूख्य समस्या रहेको बताएका हुन् ।

‘कसिलो मौद्रिक नीति र पूँजीगत खर्च कम हुनाले अर्थतन्त्रमा शिथिलता आएको हो,’ उनले भने, ‘अब मौद्रिक नीति र वित्त नीति एउटै गन्तब्यमा हिँड्नुपर्छ अब मौद्रिक नीतिलाई खुकुलो बनाउने हो ।’

उनले मौद्रिक नीति खुकुले भएपछि बैंक ब्याजदर कम हुने र उद्योगधन्दा संचालनका लागि कर्जा लिने व्यक्तिहरु बढ्ने बताए । यसो हुँदा बजारमा पैसा प्रवाह पनि बढी हुने उनको भनाई छ । यस्तै उनले राज्यप्रणालीमा भएको ज्यादतीका कारण तोकिएजति पुँजीगत खर्च हुन नसक्नुले पनि अर्थतन्त्रमा समस्या पारेका बताएका छन् ।

‘अब हामी अन्य ९ महिना सुतेर बस्ने र अन्तिम समयमा विउँझिएर खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ,’ उनले भने, ‘यसलाई न्युनिकरण गर्नका लागि अब पहिलो दिनदेखि नै खर्च गर्ने तारतम्य मिलाउनुपर्छ । अब महिना तोकेर त्यो महिनाभित्रै खर्च गर्नुुपर्ने काम फत्ते गर्नुपर्छ । हाम्रा आयोजनाको साइट क्लियर नै नगरी ठेक्का लगाउनाले आयोजनाको लागत बढ्ने र काम लम्बिदै जाने समस्या हाल छन् ।’

उनले आफ्नो छोटो कार्यकालमै बजेट ल्याउनुपर्ने कुरा धेरै ठुलो भएको समेत बताएका छन् । उनले करिव २ महिनाकै अवधिमा बजेट ल्याउनु सानो कुरा नभएको बताएका छन् । यस्तै उनले बाहिर भनिएजस्तो अर्थतन्त्र धराशायी र ओरालो नलागेको बताएका छन् । तर उकालो लाग्नुपर्ने अर्थतन्त्र भनेबमोजिम भने उकालो नलागेको बताएका छन् ।

‘हामीले भनेकोजस्तो आर्थिक वृद्धि नेगेटिभ छैन, पोजेटिभ नै छ । तर, हामी जुन रफ्तारमा अघि बढ्ुपर्ने थियो त्यहिअनुसार अघि बढ्न भने सकेका छैनौं,’ उनले भने, ‘समस्या स्वीकारेरै बजेट बनाउनुपर्नेछ । आर्थिक वृद्धि उचित नबढेको, राजस्व लक्ष्यभन्दा न्युन भएको, ब्यापारघाटा बढिरहेको, ऋणको दायित्व बढेकोलगायत हालका मुख्य समस्या हुन् ।’ यस्ता समस्या यसपल्ट मात्रै होईन अघिल्ला बर्षहरुमा पनि हुने गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL