काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक (फेड)ले पुनः नीतिगत ब्याजदर वृद्धि गरेको छ। बुधबार बसेको फेडको बोर्ड बैठकले सन्दर्भ ब्याजदर ०.२५ प्रतिशतले वृद्धि गरेको हो। यसरी हेर्दा पछिल्लो समय फेडले बजार मुल्यवृद्धिमा सन्तुलन ल्याउनका लागि लगातार बैंक ब्याजदर वृद्धि गरिरहेको छ । पछिल्ल्लो १ बर्षमै बैंकले दशौंपटक आफ्नो ब्याजदरमा वृद्धि गरेको छ ।
यसअघि ५ प्रतिशत रहेको बैंक ब्याजदर औसतमा ५.२५ प्रतिशत पुगेको छ । यो ब्याजदर सन २००६ देखि २००७ बराबरको हो । त्यसबेला पनि फेडको बैंक ब्याजदर ५.२५ मा पुगेको थियो । यसअघि सन २०२२ को फेब्रुअरी २२ मा फेडको आधार ब्याजदर ०.३८ प्रतिशतमा थियो । त्यसयता लगातार फेडले ब्याजदर बढाईरहेको छ । बुधबार फेडले बढाएको ब्याजदरले अटो लोन, क्रेडिट कार्डलगायतका उपभोक्ताका लागि असर पर्ने बताईएको छ ।
हुन त आफ्नो देशमा महंगी बढेपछि त्यसमा अंकुश लगाउन फेडले बैंक ब्याजदर बढाईरहेको छ । फेडले बैंक ब्याजदर बढाउँदा एक बैंकले अर्को बैंकबाट लिने कर्जा महंगो हुन जान्छ । त्यो महंगो कर्जा उत्पानकर्तासम्म पुग्दा झन महंगो हुन्छ र त्यसकै कारण उत्पादन हुने वस्तुको मूल्य पनि बढ्छ ।
बजारमा मूल्य बढेको वस्तु पुग्दा सर्वसाधारणले आफ्नो खपत घटाउँछन् र वस्तुको माग कम भएपछि पुनः मुल्य पुरानै लयमा फर्किन्छ । फेडले बैंक ब्याजदर बढाउँदा एक बैंकले अर्को बैंकसँग गर्ने बरोईङ कस्टमात्रै बढ्दैन । सर्वसाधारणले क्रेडिट कार्ड वा अन्य माध्यमबाट लिने कर्जाको ब्याजदर पनि बढ्छ । यसले सेवा र वस्तुको व्यापारमै असर गर्छ ।