Logo

चैतमै रसुवा भन्सारबाट ३ अर्बको वस्तु आयात, कुन भन्सारबाट कति ?

चैतमै रसुवा भन्सारबाट ३ अर्बको वस्तु आयात, कुन भन्सारबाट कति ?



काठमाडौं । चालु आर्थिक बर्षको चैत महिनामै चीनतर्फको रसुवा भन्सारबाट करिव ३ अर्ब रुपैयाँ वराबरको मालवस्तु आयात भएको छ । लामो समयदेखि बन्द उक्त नाका चैत पहिलो सातादेखि संचालनमा आएसँगै यो नाकाबाट भित्रिने मालवस्तुको परिमाण बढेको देखिन्छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार फागुन मसान्तसम्म उक्त नाकाबाट १६ अर्ब ५१ करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएकोमा चैत मसान्तमा बढेर १९ अर्ब ५१ करोड ५२ लाख रुपैयाँ बराबर पुगेको हो ।

यो भनेको चैत महिनामै उक्त नाकाबाट २ अर्ब ९९ करोड ५३ लाख ६९ हजार रुपैयाँ बराबरको वस्तु भित्रिनु हो । कोरोनाको कारण देखाउँदै चीनले नेपालतर्फका नाकाहरुबाट २०७६ सालदेखि आवतजावतमा प्रतिवन्ध लगाएको थियो । त्यसयता चीनबाट केहि वस्तुहरु उक्त नाकाबाट आईरहेपनि भनेबमोजिम भने आउन पाएका थिएनन् ।

चीनले कोरोना महामारीको प्रकोप कम भएसँगै चैत पहिलो हप्तादेखि नेपालतर्फका नाकाहरुमा आवतजावत खुला गरेको थियो । यसपश्चात चीनमा थुनिएर बसेका नेपाली नागरिकहरु नेपाल आउने, नेपालमा थुनिएका चिनियाँ नागरिहरु चीन जाने प्रक्रिया बढेको छ । यतिमात्रै होईन नेपालले उक्त नाकाबाट वस्तु निर्यात पनि गर्न पाएको छ ।

यसरी चैतमा मात्रै नेपालले चीनतर्फ रुसुवा नाकाबाट ६ करोड ७० लाख ८६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यस अवधिमा नेपालले बाँसका मुढा, गलैंचा, धातुजन्य वस्तुलगायत चीन पठाएको हो ।

चालु आवको ९ महिना अर्थात चैत मसान्तसम्म नेपालले यो नाकाबाट २१ करोड ५० लाख ६२ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।

कुन नाकाबाट कति आयात ?

यता अन्य नाकाहरुबाट पछिल्लो ९ महिनामा भएको आयातको कुरा गर्दा नेपालले सबैभन्दा बढी आयात विरगंज नाकाबाट ४ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गर्दा भैरहवा नाकाबाट १ खर्ब ७६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यस्तै यसै अवधिमा विरगंज सुक्खा बन्दरगाहबाट नेपालले १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गर्दा विराटनगरबाट १ खर्ब ४१ अर्ब र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सारबाट १ खर्ब १९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।
यता यसै अवधिमा नेपालले नेपालगंज भन्सारबाट ४९ अर्ब, मेची भन्सारबाट ३५ अर्ब र कैलालीबाट १९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यसरी हेर्दा चीनतर्फको रसुवा नाका भने आयात परिमाणको हिसावमा धेरै वस्तु आयात हुने भन्सारको नवौं स्थानमा रहेको छ ।

यस्तै यसै अवधिमा कृष्णनगर भन्सारबाट १४ अर्ब, तातोपानी नाकाबाट ८ अर्ब, गरी अन्य भन्सार कार्यालयबाट ८ अर्बभन्दा तलकै हिसावमा वस्तु आयात भएको देखिन्छ । यता पछिल्लो समय चर्चामा आएको काठमाडौं उपत्यकाभित्रको चोभार सुक्खा बन्दरगाहबाट पछिल्लो ९ महिनामा जम्मा ४७ करोड ३८ लाख रुपैयाँ बराबरको मात्रै वस्तु आयात भएको देखिएको छ ।

निर्यातमा विरगंज अगाडि

वस्तु निर्यातको कुरा गर्दा विराटनगर भन्सार भने सबैभन्दा अगाडि छ । उक्त भन्सारबाट पछिल्लो ९ महिनामा नेपालले ३१ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यस्तै यसै अवधिमा नेपालले विरगंजबाट २९ अर्ब, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट २६ अर्ब र मेची भन्सारबाट १६ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्