काठमाडौं । नवनियुक्त अर्थमन्त्री प्रकाश शरण महतले शिथिल अर्थतन्त्र चलायमान बनाउन अझै संवेदनशिल हुनुपर्ने बताएका छन् । शुक्रबार मन्त्रीको शपथ ग्रहणलगत्तै अर्थमन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा उनले यस्तो बताएका हुन् । केहि अघि नेपालले व्यहोरेको महाभुकम्प, कोरोना महामारी र विश्वभर देखिएको व्यापार असन्तुलनले नेपालको अर्थतन्त्रमा ठुलो धक्का पुगेको उनले बताए ।
सोही धक्काका कारण शिथिल अवस्थामा पुगेको अर्थतन्त्रलाई अघि बढाउन चुनैति रहेको उनको भनाई छ । हाल बजारमा कर्जा लगानी गर्ने लगानीकर्तादेखि कर्जा लिने उद्यमी व्यवसायीसम्म यो चपेटामा परेको भन्दै उनले विभिन्न निकायमार्फत विभिन्न नीतिगत उपाय अपनाउनुपर्ने आवश्यकता रहेको औंल्याए । आन्तरिक राजस्व बढाउने कार्य आफ्नो उच्च प्राथमिकतामा पर्नेसमेत उनले बताएका छन् ।