Logo

सुनको बिक्रीले ५५ वर्षको रेकर्ड तोड्यो, केन्द्रीय बैंकहरू सुन थुपार्दै

सुनको बिक्रीले ५५ वर्षको रेकर्ड तोड्यो, केन्द्रीय बैंकहरू सुन थुपार्दै



काठमाडौं । सुनको मूल्य लामो समयदेखि स्थिर रहेको छ । त्यसैको फाइदा उठाउँदै धेरै देशका केन्द्रीय बैंकहरूले गत त्रैमासमा ह्वात्तै सुन खरिद गरे । यति धेरै सुन किने कि ५५ वर्षको कीर्तिमान तोडियो ।

यी बैंकहरूले सेप्टेम्बर त्रैमासिकमा ४०० टन सुन किनेका थिए । सुनको सबैभन्दा ठूलो खरिद टर्की, उज्वेकिस्तान र कतारका केन्द्रीय बैंकहरूले गरेका थिए । यससँगै कतिपय देश यस्ता छन्, जसले नियमित रूपमा खुलासा गर्दैनन् । जसमा चीन र रुस पर्छन् ।

विश्व गोल्ड काउन्सिलका अनुसार यस वर्ष केन्द्रीय बैंकहरूले ६७३ टन सुन खरिद गरेका छन्, जुन सन् १९६७ यताकै उच्च हो । प्रश्न उठ्छ कि आखिर कसले किन्यो यति धेरै सुन ? के चीन र रुस चुपचाप आफ्नो सुनको भण्डार बढाउनमा व्यस्त छन् ।

विश्व गोल्ड काउन्सिलका अनुसार सेप्टेम्बरको त्रैमासिकमा विश्वका केन्द्रीय बैंकहरूले करिब ४०० टन सुन खरिद गरेका छन् । यो काउन्सिलको रेकर्डमा कुनै पनि त्रैमासिकमा सबैभन्दा धेरै हो । यसअघि सन् २०१८ को तेस्रो त्रैमासिकमा २४१ टन सुन खरिद भएको थियो, जुन अहिलेसम्मकै कीर्तिमान थियो ।

यस अवधिमा टर्कीको केन्द्रीय बैंकले सबैभन्दा बढी ३१ टन सुन खरिद गरेको छ । योसँगै उनको सुनको भण्डार ४८९ टन पुगेको छ, जुन उसको कुल मौज्दातको २९ प्रतिशत हो । टर्कीले यो वर्ष ९५ टन सुन किनेको छ । आरबीआई (रिजर्भ बैंक अफ इन्डिया) ले पनि सुनको भण्डार बढाएको छ । यस अवधिमा बैंकले जुलाईमा १३ टन र सेप्टेम्बरमा चार टन सुन खरिद गरेको थियो । भारतको सुनको भण्डार ७ सय ८५ टन पुगेको छ ।

सुनको भाउ किन बढिरहेको छैन

पछिल्लो समय सुनको भाउ ओरालो लागेको छ । यसको कारण यूएस फेडरल बैंकले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदरमा भारी वृद्धि गर्नु रहेको छ । यसले डलर बलियो बनायो । डलर बलियो भएकाले लगानीकर्ता सुनबाहेक अमेरिकी मुद्रातर्फ आकर्षित भएका छन् । यही कारण सुनको भाउ घटेको हो । जसका कारण विश्वभरका केन्द्रीय बैंकहरु सुनको भण्डार बढाउनमा लागेका छन् । चीन र रुसमा कति सुन छ भन्ने कुरा उनीहरुले नियमित रुपमा खुलासा गर्दैनन् । रसियाले अन्य धेरै देशहरूमा पनि सुनको भण्डार राखेको छ ।

यो वर्षको तेस्रो त्रैमासिक अवधिमा १ हजार १८१ टन सुन बिक्री भएको छ । यसमा काउन्टर वा ओटीसी तथ्यांक समावेश छैन् सुनको विक्रिमा वर्षेनि २८ प्रतिशतले वृद्धि भएको छ । विश्व सुन काउन्सिलको नयाँ सुनको माग प्रवृति प्रतिवेदनले तेस्रो त्रैमासिकमा सुनको माग १ हजार १८१ टनको स्तरमा पुगेको देखाएको छ । मागमा बृद्धि सुनको वार्षिक माग कोविड अघिको स्तरमा पुगेको छ । तर, यो अवधिमा सुनको लगानीको मागमा कमी आएको छ । वार्षिक आधारमा यसको लगानी माग ४७ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्