Logo

नेपालमा २०२२ मा आईएफसीको पौने ६ अर्ब लगानी, ३० हजार साना व्यवसायीमा वित्तीय पहुँच

नेपालमा २०२२ मा आईएफसीको पौने ६ अर्ब लगानी, ३० हजार साना व्यवसायीमा वित्तीय पहुँच



काठमाडौं । अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)ले नेपालको वित्तीय क्षेत्रमा ४ करोड ५० लाख अमेरिकी डलर अर्थात ५ अर्ब ७१ करोड नेपाली रुपैयाँ लगानी गर्ने भएको छ । भुक्तानी प्रणाली सुधार तथा ‘साइकोमेट्रिक स्कोरिङ सोलुसन’जस्ता वित्तीय उपकरण तथा सेवाहरूको ठूलो दायरालाई प्रोत्साहन गर्ने लक्ष्य सहित आईएफसीले सन् २०२२ माने नेपालमा उक्त लगानी गर्न लागेको हो । साथै यसै समयमा, आईएफसीले ‘ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम’ अन्तर्गत व्यापार वित्त सुविधा (ट्रेड फाइनान्सिङ फेसेलिटी) पनि प्रदान गर्नेछ भने यसमा हरित व्यापार वित्तीयकरणको विशेष प्रावधान समावेश गरिएको छ । यो विश्वव्यापी रूपमा नै आईएफसीको यो पहिलो हरित वैश्विक व्यापार वित्तीयकरण कार्यक्रम हो ।

जस अनुसरुप सन् २०२३ सम्म नेपालमा ३० हजार भन्दा धेरै साना–मझौला व्यवसाय (एसएमई)मा साना व्यवसाय र आम मानिसहरूमा वित्तीय पहुँच थप सुदृढ गरिने भएको छ । आईएफसीको यो कदमले मुलुकको वित्तीय क्षेत्रमा समावेशीता, प्रतिस्पर्धी क्षमता तथा स्थायित्व (दिगोपना)मा सुधारका लागि सहयोग पुग्नेछ अपेक्षा गरिएको छ ।

‘कोभिड–१९ महामारीले नेपाली अर्थतन्त्रको प्रमुख खम्बा साना र मझौला आकारका उद्यम÷व्यवसायमा ठूलो प्रभाव पारेको छ,’ वित्तीय संस्था समूहका लागि आईएफसीका क्षेत्रीय उद्योग निर्देशक एलेन फर्लेमुले भने, ‘यी व्यवसायलाई तुरुन्तै ध्यान दिन आवश्यक रहेकोमा आईएफसीको लगानीले एसएमईमा कर्जा प्रवाह सम्भाव्य र दिगो हुन्छ भनेर देखाउन मद्दत पुग्नेछ ।’ साथै यसले समग्र बैंक कर्जामा वृद्धि हुने दिशातर्फ अग्रसर गराउँदै एसएमईको विस्तारमार्फत् नेपालको पुनरुत्थानलाई तीव्रता दिने उनको भनाई छ ।

एसएमईहरू नेपालको अर्थतन्त्रमा आर्थिक वृद्धिको इन्जिन भएको र सोको माध्यमबाट १८ लाख मानिसलाई रोजगारी प्रदान गर्नुका साथै कुल गार्हस्थ उत्पादन (जीडीपी)मा २२ प्रतिशत योगदान गर्नेछ । अझैपनि ४४ प्रतिशत एसएमईहरूका लागि वित्तीय पहुँच प्रमुख अवरोध रहेको रहेको र खासगरी दुर्गम क्षेत्रमा रहेका साना र महिलाको स्वामित्वका कम्पनीहरूमा २.९ अर्ब अमेरिकी डलर बराबरको वित्तीय खाडल रहेको अनुमान गरिएको छ । सीमित वित्तीय सुविधाका कारण नेपालका साना व्यवसायीहरू नगदमा आधारित भएर सञ्चालित छन् । परिणामस्वरूप, आवश्यक लगानी र उपलब्ध वित्तीय पहुँचको ठूलो खाडलमा उनीहरू विस्तार हुन संघर्षरत छन् ।

उक्त खाडल पूर्ति गर्न आईएफसीले नेपालमा सानिमा बैंकलाई २ करोड अमेरिकी डलर र एनएमबी बैंक लिमिटेडलाई २ करोड ५० लाख अमेरिकी डलर प्रदान गरेको छ । पछिल्लो ४ वर्षमा एनएमबी बैंकमा आईएफसीको यो तेस्रो लगानी हो ।

नेपालजस्ता अर्थतन्त्रले व्यापार वित्त (ट्रेड फाइनान्स) को अभाव सामना गरिरहेको छ, तसर्थ आईएफसीले सम्पत्तिका आधारमा नेपालकै दोस्रो ठूलो वाणिज्य बैंक ग्लोबल आईएमई बैंक लिमिटेडलाई ‘ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम’ अन्तर्गत सहयोग प्रदान गरिरहेको छ ।
‘एसएमईमा बैंकको विद्यमान लगानी ढाँचा अझै पनि कर्जासम्बन्धी लामा प्रक्रिया तथा धितो आवश्यकतामा आधारित छन्,’ आईएफसीका दक्षिण एसिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङ्गले भने, ‘यस परिदृश्यमा देशका प्रमुख वित्तीय संस्थाहरूलाई आईफसीको सहयोगले साना व्यवसायको इकोसिस्टम सुदृढीकरणका साथै रोजगारी सिर्जना र अर्थतन्त्र पुनरुत्थानमा योगदान पुग्नेछ ।’

नेपाल आईएफसीको प्राथमिकता रहेको देशको भएको बताउँद नेपालमा आईएफसीको पहल समावेशीता अभिवृद्धि तथा दिगो आर्थिक विकास केन्द्रीत हुने जानकारी दिए । साथै उर्जा र पूर्वाधार विकासका साथै कोभिड–१९ महामारीका प्रभावसँग जुझ्नका लागि उक्त सहयोग समावेश गरिएको छ । नेपालमा आईएफसीले सन् १९७५ देखि सबैभन्दा आवश्यकताका ठाउँमा लगानी गरी अवसर सिर्जना गर्दै आएको छ । सन् २०२२ को जुन महिनासम्म नेपालमा आईएफसीको बक्यौता लगानी (फोर्टफोलियो) ६० करोड अमेरिकी डलर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्