Logo

भन्सारमा व्यापारीको द्वैध चरित्र : कर छल्न ‘अन्डरभ्यालुएसन’, क्यापिटल फ्लाईटलाई ‘ओभरभ्यालुएसन’

भन्सारमा व्यापारीको द्वैध चरित्र : कर छल्न ‘अन्डरभ्यालुएसन’, क्यापिटल फ्लाईटलाई ‘ओभरभ्यालुएसन’



काठमाडौं । व्यापारीहरुले भन्सार कर छल्नका लागि आयातित बस्तुमा न्यून बिजकिकरण (अण्डरभ्यालुएसन) गरेको आरोप लागिरहँदा पछिल्लो समय क्यापिटल फ्लाईटका लागि ओभरभ्यालुएसन (अधिक बिजकीकरण) गर्ने गरेको पाइएको छ । विशेषगरी ठूला व्यवसायी तथा व्यापारीहरुले क्यापिटल फ्लाईटका लागि भन्सार नलाग्ने वा न्यून भन्सार लाग्ने बस्तुमा ओभर भ्यालुएशन गरेर क्यापिटल फ्लाईट गर्ने गरेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

विशेषगरी व्यापारीहरुले भन्सार नलाग्ने बस्तुमा बढी नाफा लिन र क्यापिटल फ्लाईटका लागि ओभर भ्यालुएशन गरेर सामान आयात गर्ने गरेको साउथ एसिया वाच अन टे«ड इकोनमी एण्ड इन्भ्यारोमेन्ट (सावती) का कार्यकारी अध्यक्ष डा.पोषराज पाण्डेले बताए । ‘हाम्रो अनुसन्धानले कर नलाग्ने कृषिजन्य बस्तु तथा सोहीअनुरुपमा एकदमै कम कर लाग्ने बस्तु आयातमा व्यापारीहरुले ओभर भ्यालुएशन गरेर क्यापिटल फ्लाईट गरिरहेको बुझिएको छ,’ उनले भने, ‘यस विषयमा सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।’

पछिल्लो समय व्यापारीहरुले उच्च भन्सार कर लाग्ने बस्तुको आयातमा अण्डर भ्यालुएशन गरेर राज्यलाई ठग्ने र कर नलाग्ने बस्तुको ओभर भ्यालुएशन गरेर क्यापिटल फ्लाईटका साथै अधिक नाफा लिने गरेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । व्यापारीहरुले कर नलाग्ने बस्तुमा बस्तुको वास्तविक मुल्यभन्दा बढीको विलविजक बनाएर नेपालबाट बाहिर पैसा पठाउने गरेपनि बढी भन्सार लाग्ने बस्तुमा न्यून मुल्यमा बिल जारी गरेर हुण्डीबाट पैसा पठाउँदै आएका छन् । जसका कारण नेपालले राजस्व गुमाउनुका साथै विदेशी मुद्रासमेत गैरकानूनी रुपमा बाहिरिँदै आएको छ ।

व्यवसायीको कर छल्ने र क्यापिटल फ्लाईट गर्ने दोहोरो चरित्रका कारण नेपालले वास्तविक मुल्यमा कति बस्तु आयात गरिरहेको छ भन्ने तथ्यांक नभएको सम्बद्ध सरोकारावालाहरु बताउँछन् । पछिल्लो समय नेपालले परिमाणात्मक रुपमा धेरै बस्तु आयात नगरेपनि मुल्यको आधारमा आयात ह्वात्तै बढेको छ । व्यापारीहरुले क्यापिटल फ्लाईट गर्ने उद्देश्यले धान लगायतका कृषिजन्य बस्तु, न्यून कर रहेको विद्युतीय गाडीजस्ता बस्तु आयातमा अधिक मुल्य राख्ने गरेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL