Logo

२५ देशसँग नेपालको व्यापार नाफा, यी हुन् नेपालले नाफाको व्यापार गर्ने मुख्य १० देश

२५ देशसँग नेपालको व्यापार नाफा, यी हुन् नेपालले नाफाको व्यापार गर्ने मुख्य १० देश



काठमाडौं । नेपालले चालु आर्थिक बर्षको ११ महिनामा २५ देशसँग नाफाको व्यापार गरेको छ । नेपालले गर्ने कुल वैदेशिक व्यापारको ९० प्रतिशत हिस्सा आयातको र १० प्रतिशत हिस्सा निर्यातको भएपनि २५ देशसँग भने नाफाको व्यापार गरेको हो ।

पछिल्लो समय बढ्दै गएको उपभोग्य वस्तुको आयातका कारण व्यापारघाटाको खाडल बढ्दो छ । ११ महिनामा मात्रै नेपालले कुल १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २४ प्रतिशतले बढी हो । नेपालले यस अवधिमा कुल १ सय ५८ देससँग वैदेशिक व्यापार गरेपनि त्यसमध्ये १५ प्रतिशत देश अर्थात २५ देशसँग मात्रै नाफाको व्यापार गरेको हो ।

पछिल्लो ११ महिनामा व्यापार नाफा गरेका देशहरुबाट नेपालले २९ करोड ६ लाख रुपैयाँको वस्तु आयात गर्दा ८३ करोड ९० लाख १० हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यसरी नेपालले यी देशबाट गर्ने आयातको व्यापारभन्दा निर्यातको व्यापार बढी हुँदा ११ महिनामा ५४ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरको नाफाको व्यापार भएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालले व्यापारमा नाफा गर्ने मुलुकमा सबैभन्दा अग्रस्थानमा लेवनान रहेको छ । नेपालले उक्त अवधिमा लेवनानसँग १८ करोड १४ लाख २८ हजार रुपैयाँको व्यापार नाफा गरेको छ । सो अवधिमा नेपालले लेबनानबाट ९८ लाख ६० हजार रुपैयाँको वस्तु आयात गर्दा १९ करोड १२ लाख २८ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

लेवनानपछि नेपालले डेनमार्कसँग उच्च नाफाको व्यापार गरेको छ । डेनमार्कसँग नेपालले ११ महिनामा १७ करोड ७० लाख ५४ हजार रुपैयाँको नाफाको व्यापार गरेका हो । यस्तै नेपालले यस अवधिमा सुडानसंग ७ करोड ३५ लाख, अंगुईलासँग ४ करोड ४२ लाख, र यमनसंग २ करोड ७१ लाख रुपैयाँ बराबरको नाफाको व्यापार गरेको विभागको तथ्यांकमा उल्लेख छ ।

यसका साथै नेपालले न्यु क्यालिडोनीयासँग ९६ लाख ६१ हजार रुपैयाँको नाफाको व्यापार गर्दा फिजीसंग ६७ लाख १७ हजार रुपैयाँको र सिरीयन अरवसँग ५७ लाख २६ हजार रुपैयाँको व्यापार नाफा गरेको हो । यस अवधिमा नेपालले मोनाकोसँग ५४ लाख ४७ हजार रुपैयाँको नाफाको व्यापार गरेको छ भने चाडसंग ४२ लाख ५७ हजार रुपैयाँको नाफाको व्यापार गरेको छ ।

लेवनान संगै डेनमार्क, सुडान, अंगुईला, यमन, न्यु क्यालिडोनीया, फिजी, सिरीयन अरव, मोनाको र चाड सहित २५ देशँंग नेपालले यस अवधिमा नाफाको व्यापार गरेको तथ्यांकले देखाएको छ ।

नेपालले नाफाको व्यापार गरेका २५ देशमध्ये ७ देशसँग एकोहोरो निर्यात मात्रै गरेको छ । जसमा अंगुईला, सिरीयन अरव, चाड, बहामस, कंगो, किर्गीस्तान र समोआ रहेका छन ।

नेपालले उक्त अवधिमा कुल १ सय ५८ ओटा देशसंग व्यापार गरेको देखिन्छ । जसमा २५ देशसँग नाफाको व्यापार गरेको छ भने १ सय ३३ देशसँग घाटाको व्यापार भएको विभागको तथ्यांकले देखाएको छ ।

नेपालले सो अवधिमा कुल १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख २४ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । सोधि अवधिमा कुल १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रुपैयाँको मात्र वस्तु निर्यात गरेको हो । यसरी आयात धैरै र निर्यात कम गर्दा कुल १२ खर्ब ६२ अर्ब १८ करोड ५० लाख ३६ हजार रुपैयाँ व्यापारघाटा व्यहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL