Logo

प्रतिवन्धित १० वस्तुमार्फत ३ महिनामा १९ अर्ब जोगिने, भन्सार राजस्व लक्ष्यमा १३ अर्बको ग्याप

प्रतिवन्धित १० वस्तुमार्फत ३ महिनामा १९ अर्ब जोगिने, भन्सार राजस्व लक्ष्यमा १३ अर्बको ग्याप



काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले मंगलबार मात्रै राजपत्रमा प्रकाशित गर्दै विभिन्न १० प्रकारका वस्तुको आयातमा प्रतिवन्ध लगाएको छ । पछिल्लो समय नेपाली अर्थतन्त्रमा विदेशी मुद्रा संचिति लगातार ओरालो लाग्दै गएपछि आयातमा कडाई गर्ने औजार यसअघि राष्ट्र बैंकले पनि प्रयोगमा ल्याएको थियो ।

विभिन्न ४७ प्रकारका हार्माेनी कोडमा आयात हुने वस्तुको प्रतितपत्र खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने, केहि वस्तुको आयातका लागि प्रतितपत्र नै खोल्न नदिनेलगायतका प्रयोग राष्ट्र बैंकले नगरेको होईन । तर, यस्तो औजार प्रयोग गर्दागर्दै पनि विलासिताका वस्तुको आयात घट्नुको सट्टा झन वैदेशिक मुद्रा संचितिमा दवाव पर्न थालेपछि मन्त्रालयले राजपत्रमा सूचनानै प्रकाशित गरेर रोक लगाएको हो ।

उद्योग मन्त्रालयले नै मंगलबारदेखि लागु हुने गरी कुरकुरे आईटम, तयारी मदिरा, चुरोट तथा सुर्तिजन्य वस्तु, हिरा, मोबाइल सेट, ३२ इन्चमाथिका रंगिन टेलिभिजन, जीप, कार, भ्यान, २५० सीसी माथिका मोटरसाइकल, खेलौना र तास आयातमा प्रतिवन्ध लगाएको छ ।

यस्ता वस्तुको आयातमा प्रतिवन्ध लगाउँदै सरकारले प्रतिमहिना औषतमा करिव सवा ६ अर्ब बढी रुपैयाँ बाहिरिन बाट रोक्ने देखिएको छ । चालु आर्थिक बर्षको पछिल्लो ९ महिनाको तथ्यांकलाई आधार मान्दा यस्ता वस्तुको आयात ५७ अर्ब ५ करोड ५३ लाख रुपैयाँ बराबरको छ ।

यसलाई औषतमा ९ महिनाले भाग गर्दा प्रतिमहिना ६ अर्ब ३३ करोड ९४ लाख रुपैयाँ हुन्छ । यो प्रतिमहिना नेपालले विलासिताका वस्तु आयातमार्फत बाहिरिने औषत पैसा हो । चालु आव सकिन अझै ३ महिना बाँकी रहेकाले यस्ता वस्तुको आयात अझै १९ अर्ब १ करोड बढीले हुने अनुमान गर्न सकिन्छ । तर, सरकारले आर्थिक बर्ष सकिन ३ महिना अघि नै यी वस्तुको आयातमै प्रतिवन्ध लगाउने निर्णय गरेपछि उक्त पैसा नेपालमै बस्ने भएको हो ।

भन्सार विभागको तथ्यांकलाई हेर्दा मंगलबार बन्देज लगाईएका १० वस्तुमध्ये सबैभन्दा बढी आयात मोबाइल फोनको भएको देखिन्छ । पछिल्लो ९ महिनामा नेपालले ५० लाख मोबाइल सेट आयात गरी ३४ अर्ब ९७ करोड ९७ लाख रुपैयाँ विदेश पठाएको हो ।

यससँगै नेपालले यसै अवधिमा ११ अर्ब ३४ करोड रुपैयाँ बराबरका कार, जिप, भ्यानलगायत सवारीसाधन आयात गरेको छ । यस्तै पछिल्लो ९ महिनामा नेपालले २ अर्ब ६७ करोड रुपैयाँ बराबरको टेलिभिजन, २ अर्ब १४ करोड रुपैयाँ बराबरको हिरा, ५५ करोड ४६ लाख रुपैयाँ बराबरको चुरोट तथा सुर्चीजन्य पदार्थ र ५८ करोड ७६ लाख रुपैयाँ बराबरको कुरकुरे, चिज, लेजलगायत आयात गरेको छ । यस्तै यसै अवधिमा नेपालले २ अर्ब ७० करोड २९ लाख रुपैयाँ बराबरको ५१ लाख ७४ हजार लिटर तयारी मदिरासमेत आयात गरेको तथ्यांकले देखाउँछ ।

नेपालले १ अर्ब १४ करोड ९० लाख रुपैयाँ बराबरका ६ हजार ३ सय १८ थान २५० सीसी माथिका मोटरसाईकल, १९ करोड ५५ लाख १० हजार रुपैयाँ बराबरको ९८ लाख ८ हजार ५ सय थान खेल्ने तास र ७१ करोड ७९ लाख ७६ हजार रुपैयाँ बराबरको २ करोड ५३ लाख ७९ हजार थान खेलौना पनि पछिल्लो ९ महिनामा आयात गरेको छ ।

राजस्वमा १३ अर्वको ग्याप

सरकारले वैदेशिक मुद्रा संचिति यथावत राख्न र सहज तुल्याउन आयातमा कडाई गरे पनि यसको प्रत्यक्ष असर राजस्व उठौतिमा देखिने पक्का भएको छ । भन्सार विभागकै तथ्यांकलाई नियाल्दा मंगलबार आयातमा प्रतिवन्ध लगाईएका १० वस्तुको आयातमार्फत नेपालले पछिल्लो ९ महिनामा मात्रै ४० अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

यसलाई ९ महिनाले भाग गर्दा प्रतिमहिना औषतमा यी वस्तुबाट मात्रै साढे ४ अर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलन हुनेछ । चालु आवको ३ महिना बाँकी हुँदा यस्ता विलासिताका वस्तुको आयातमा प्रतिवन्ध लगाउँदा चालु आवको राजस्व उठौतिमा औषतमा सरकारले १३ अर्ब ६२ करोड रुपैयाँ गुमाउनेछ । अर्थात सरकारको राजस्व लक्ष्यमा करिव साढे १३ अर्ब रुपैयाँको फरक देखिने छ ।

प्रतिक्रिया दिनुहोस्