Logo

३९ बीमा कम्पनीले ९ महिनामा आर्जन गरे १ खर्ब ३१ अर्ब बीमाशुल्क, सबैभन्दा बढी कसको ?

३९ बीमा कम्पनीले ९ महिनामा आर्जन गरे १ खर्ब ३१ अर्ब बीमाशुल्क, सबैभन्दा बढी कसको ?



काठमाडौं । नेपालमा संचालित २० निर्जीवन र १९ ओटा जीवन बीमा कम्पनीले चालु आर्थिक बर्षको ९ महिनामा १ खर्ब ३१ अर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनयता चैत मसान्तसम्म ३९ बीमा कम्पनीले कुल १ खर्ब ३१ अर्ब १३ करोड १० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।

समितिका अनुसार २० बीमा कम्पनीले मात्रै यस अवधिमा १ खर्ब २ अर्ब ४२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यता निर्जीवन बीमा कम्पनीहरुले भने यही अवधिमा २८ अर्ब ७० करोड ११ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।

निर्जीवन बीमा सेवा प्रदान गर्ने २० कम्पनीले चैत महिनामा मात्रै २ लाख ५६ हजार ९ सय ५६ बीमालेख जारी गर्दै ३ अर्ब ४० करोड १२ लाख रुपैयाँ बीमाशुलक आर्जन गरेका छन् । चालु आर्थिक बर्षको ९ महिनामा सबैभन्दा बढी बीमा व्यवसाय गर्ने निर्जीवन बीमा कम्पनीमध्ये शिखर ईन्स्यारेन्स पहिलो स्थानमा छ ।

पछिल्लो ९ महिनामा कम्पनीले १ लाख ८० हजार ७ सय ९९ बीमालेख विक्री गर्दा ३ अर्ब ७१ करोड १५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै यसै अवधिमा सगरमाथा इन्स्यारेन्स कम्पनीले १ लाख ९९ हजार बढी बीमालेख जारी गर्दै २ अर्ब ४२ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

समितिका अनुसार चालु आवको चैत मसान्तसम्म सबै निर्जीवन बीमा कम्पनीहरुले २१ लाख ७५ हजार ४ सय १४ बीमालेख विक्री गरेका छन् । जसमध्ये चैतमा मात्रै २ लाख ५६ हजार ९ सय ५८ बीमालेख जारी भएका छन् ।

यता जीवन बीमा कम्पनीहरुले भने चैत महिनामा मात्रै १० लाख ११ हजार २ सय ८३ बीमालेखमार्फत १० अर्ब २२ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । पछिल्लो ९ महिनामा भने जीवन बीमा कम्पनीहरुले कुल प्रथम बीमाशुल्क वापत २८ अर्ब ८९ करोढ ९३ लाख, बीमा नविकरणवापत ७३ अर्ब ५३ करोड ५ लाख रुपैयाँ आर्जन गरेका छन् ।

पछिल्लो ९ महिनामा सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गर्ने जीवन बीमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा २६ अर्ब ३७ करोड ३५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस्तै दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको चैत महिनासम्ममा १२ अर्ब ४५ करोड ६३ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ ।

तेस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १० अर्ब १३ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यूनियन लाइफले ६ अर्ब १५ करोड ४६ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL