Logo

अर्थमन्त्रीको स्पष्टिकरण : अर्थतन्त्र धराशायी हुँदैछ भनेर पहिल्यै भनेको थिए तर, गभर्नरले सुनेनन्

अर्थमन्त्रीको स्पष्टिकरण : अर्थतन्त्र धराशायी हुँदैछ भनेर पहिल्यै भनेको थिए तर, गभर्नरले सुनेनन्



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र धराशायी र खतराको बाटोमा जाँदैछ भनेर पहिल्यै जानकारी गराईसकेको बताएका छन् । सोमबार अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी दिनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले गभर्नर, अर्थसचिवलगायतलाई पहिल्यै अर्थतन्त्रका सुचकले खतराको घण्टी बजाएकोबारे सोच्न आग्रह गरिसकेको बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले गभर्नरले आफुले भनेको नसुनेको र वैदेशिक मुद्रा संचितिमा कडा कदम धेरै पछि मात्रै चालेका आरोप लगाए । यस्तै उनले गभर्नरलाई कानुनसम्मत निलम्बन गरेको बताउँदै अध्ययन समितिले त्यसको बारेमा विस्तृत कुराको जानकारी गराउने बताए ।

आफुले हुण्डीको बारेमा पनि ५ महिना अघि नै जानकारी पाएर गभर्नरलाई छानविन गर्न आग्रह गरेको उनले बताए । तर, त्यसको छानविन र कारबाही पनि हुण्डी कारोबार गाउँमा छिरिसकेपछि मात्रै भएको उनको आरोप थियो । ‘हुण्डीको कारोबार, बढ्दो व्यापारघाटा, घट्दो वैदेशिक मुद्रा संचितिलगायतका कुराहरुको जानकारी म मन्त्रालयमा आउने बेलामै गभर्नरलाई गराएको थिएँ,’ उनले भने, ‘त्यसको सुनुवाई गभर्नरबाट बेलामै नभएकाले नै हाल यो समस्या आईपरेको हो, तर, समस्या ठुलो भने होईन ।’

पछिल्लो समय उच्च रुपमा कर्जा प्रवाह भईरहेको भएपनि त्यो कुन क्षेत्रमा कसरी परिचालन भईरहेको छ भनेर गभर्नरले सोधिखोजी नगरेको, कर्जा प्रवाह भए अनुसारको योगदान नदेखिएकोलगायतका कुरामा गभर्नर मौन रहेको आरोप अर्थमन्त्री शर्माको छ ।

अर्थतन्त्रका हरेक सुचकहरु सुधारोन्मुख भएपनि केहि तत्वले भने श्रीलंकाको ताज पहिरिदिएको उनले बताए । ‘हाल पर्यटन क्षेत्र चलायमान हुँदैछ, रेमिट्यान्स बढ्दैछ, पुँजीगत खर्च पनि बढ्दै छ,’ पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘यस्तो अर्थतन्त्रलाई कुन जोनमा राख्न मिल्छ, कता तिर अर्थतन्त्र जाँदैछ त्यो आफै जान्ने कुरा हो, कसैले हचुवाका तालमा भन्दैमा श्रीलंकाको अवस्था नेपालमा आउँदैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL