Logo

बीमा कम्पनीको चुक्ता पुँजी बढ्यो, जीवनको ५ अर्ब निर्जीवनको २ अर्ब ५० करोड

बीमा कम्पनीको चुक्ता पुँजी बढ्यो, जीवनको ५ अर्ब निर्जीवनको २ अर्ब ५० करोड



काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी बृद्धि गरेको छ । संचालक समितिको आज बसेको बैठकले जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याएको हो ।
बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी समग्रमा नेटवर्थ बढाई सोअनुरुप कम्पनीहरुको जोखिम वहन क्षमता बढाउने उद्देश्यले चुक्ता पूँजी बृद्धि गरिएको समितिले जानकारी दिएको छ । चुक्ता पूँजी बृद्धिसँगै कम्पनीहरुलाई एकअर्कामा गाभ्ने गाभिने अनुकुल वातावरण सिर्जना भई उपयुक्त संख्यामा राख्न तथा पूँजीगत आधार बलियो बनाउन सहयोग पुग्ने समितिको ठहर छ । ठूलो पूँजी भएमा सेवाको लागत कम भई बीमाको पहूँच विस्तार गर्न, ठूलो पूँजी कायम गरी कम्पनीहरुबीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पूँजीसँग सामञ्जस्यता हुनेगरी चूक्ता पूँजी कायम गर्न पूँजी वृद्धिको निर्णय गरिएको समितिले जनाएको छ ।

बीमा कम्पनीहरुले २०७९ साल चैत्र मसान्तसम्ममा तोकिएको चुक्ता पूँजी कायम गरिसक्नु पर्नेछ । निर्धारित पूँजी तोकिएको अबधिभित्र पुर्याउन नसक्ने कम्पनीहरुले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” बमोजिम हुनेगरी पूँजी कायम गर्नुपर्नेछ ।

यसैगरी, विदेशी बीमकको रुपमा दर्ता भई संचालनमा रहेको बीमकले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को दफा ४ बमोजिमको तोकिएको न्यूनतम चूक्ता पूँजी बराबरको निर्धारित पूँजी कायम गर्नुपर्ने व्यवस्था गरेको हो । संयुक्त लगानीमा संचालित कम्पनीले तोकिएको समयावधिभित्र उल्लिखित निर्देशिकाको दफा ४ बमोजिमको तोकिएको न्यूनतम चूक्ता पूँजी कायम गर्ने व्यवस्था पनि समितिको बैंठकले गरेको छ । साथै कम्पनीहरुले ३० दिनभित्र आफ्नो पूँजी योजनासम्बन्धित बोर्डबाट निर्णय गराई समिति समक्ष पेश गर्नुपर्ने व्यवस्था समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL