Logo

७ महिनामा शोधनान्तर स्थिति घाटा २४७ अर्व पुग्यो, विदेशी मुद्रा संचितिमा पनि उच्च गिरावट

७ महिनामा शोधनान्तर स्थिति घाटा २४७ अर्व पुग्यो, विदेशी मुद्रा संचितिमा पनि उच्च गिरावट



काठमाडौं । चालु आर्थिक बर्षको ७ महिनामा नेपालको शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोडले घाटामा छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो ७ महिनाको तथ्यांक अनुसार पछिल्लो समय शोधनान्तर स्थिति लगातार घाटामा गईरहेको हो । गत आर्थिक बर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोड रुपैयाँले बचतमा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको छ ।

यस्तै यो अवधिमा चालु खाता पनि ४ खर्ब १३ अर्ब ८६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४ अर्ब ३९ करोडले घाटामा रहेको थियो ।

सोधनान्तर स्थितिमा देखिएको घाटासँगै वैदेशिक मुद्रा संचिति पनि लगातार ओरालो लागिरहेको देखिन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६ दशमलव २ प्रतिशतले घटेको छ । यो गिरावट जारी रहँदा माघ मसान्तसम्म वैदेशिक मुद्रा संचिति ११ खर्ब ७३ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।

यसले ७ महिनाको आयात धान्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा २०७८ माघ मसान्तमा १७ दशमलव ७ प्रतिशतले कमी आई १० दशमलव २४ अर्ब ६० करोड रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL