Logo

सात महिनामा १० खर्ब बढीको व्यापारघाटा : साढे ११ खर्बको आयात, १ खर्ब ३१ अर्बको निर्यात

सात महिनामा १० खर्ब बढीको व्यापारघाटा : साढे ११ खर्बको आयात, १ खर्ब ३१ अर्बको निर्यात



काठमाडौं । नेपालले चालु आर्थिक बर्षको पछिल्लो ७ महिनामा मात्रै १० खर्ब १५ अर्ब रुपैयाँ बढीको व्यापारघाटा बेहोरेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो ७ महिनामा नेपालले ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बढीको वस्तु आयात गर्दा जम्मा १ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात गरेको छ ।

नेपालले गत आवको सोही अवधिको तुलनामा यो बर्षको पहिलो ७ महिनामै ३८ दशमलव ४५ प्रतिशत बढी अर्थात १० खर्ब १५ अर्ब ८० करोड रुपैयाँ व्यापारघाटा व्यहोरेको हो ।

विभागका अनुसार नेपालले गर्ने निर्यात व्यापार गत आवको सोही अवधिको तुलनामा ८८ दशमलव ३० प्रतिशतले बढ्दा आयात ४२ प्रतिशतले बढेको छ । यो अवधिमा कुल वैदेशिक व्यापार ४६ प्रतिशतले बढेको विभागले जानकारी दिएको छ । चालु आर्थिक बर्षको ७ महिनामा नेपालले गरेको निर्यात व्यापारमा सबैभन्दा पहिलो स्थानमा खानेतेलकै वर्चस्व छ ।

नेपालको निर्यात व्यापारमा पछिल्लो ३ बर्षदेखि खानेतेलले पहिलो स्थान पाउँदै आएको छ । पछिल्लो ७ महिनामा नेपालले ३६ अर्ब ८५ करोड रुपैयाँ बराबरको सोयाविन तेल निकासी गरेको छ । त्यसपछि धेरै निर्यात हुने वस्तुको सूचिको दोस्रो, तेस्रो र चौथो स्थानमा पाम तेल छ भने पाँचौ स्थानमा गलैँचा छ ।

यस्तै यस अवधिमा नेपालले आयात गर्ने वस्तुहरुमध्ये धेरै आयात हुने वस्तुको सुचीको पहिलो स्थानमा डिजेल छ । जुन पछिल्लो ७ महिनामा ७२ अर्ब ९६ करोड रुपैयाँ बढीको आयात भएको देखिन्छ । यस्तै धेरै आयात हुने वस्तुको दोस्रो स्थानमा कच्चा सोयाविन तेल छ । यो ७ महिनामा ३९ अर्ब ६६ करोड रुपैयाँ बराबरको आयात भएको छ । नेपाली उद्योगीहरुले कच्चा सोयाविन तेल प्रशोधन गरी विदेशमा निर्यात गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL