Logo

आधा बर्षमा साढे २ अर्बको अनलाइन सपीङ, क्युआर स्क्यान गरी ३५ अर्ब भुक्तानी

आधा बर्षमा साढे २ अर्बको अनलाइन सपीङ, क्युआर स्क्यान गरी ३५ अर्ब भुक्तानी



काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ६ महिनामा मात्रै नेपालमा करिव साढे २ अर्ब रुपैयाँ बराबरको वस्तु अनलाइनमार्फत खरिद भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो ६ महिनामा नेपालीले ४ लाख १९ हजार पल्ट अनलाइनमार्फत वस्तु खरिद गरी २ अर्ब ४३ करोड ९० लाख रुपैयाँ बढि भुक्तानी गरेका हुन् ।

यस्तो भुक्तानी नेपालीहरुले विभिन्न कार्डको माध्यमबाट गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । यसरी ६ महिनामा अनलाइनमार्फत वस्तु खरिद गर्दा गरिएको भुक्तानी भने गत आर्थिक बर्षको सोही अवधिको तुलनामा करिव साढे २ अर्बले कम हो ।

गत आर्थिक बर्षको यही अवधिमा नेपालमा अनलाइनमार्फत वस्तु खरिदमा मात्रै ४ अर्ब ९८ करोड रुपैयाँ भुक्तानी भएको देखिन्छ । पछिल्लो समय बढेको अनलाइन भुक्तानीको ट्रेन्ड र अनलाइन सपीङ कल्चरले यस्तो भुक्तानी बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म अनलाइनमार्फत भुक्तानी सेवा प्रदान गर्नका लागि मात्रै २८ कम्पनीले लाइसेन्स लिईसकेका छन् ।

यसरी यसको ट्रेन्ड बढिरहँदा पछिल्लो ६ महिनामा नेपालीहरुले वस्तु तथा सेवा खरिदमा ३५ अर्ब १८ करोड रुपैयाँ क्युआर पे मार्फत भुक्तानी गरेको देखिन्छ । कुल ९३ लाख ४१ हजार पटक क्युआर कोडमार्फत भुक्तानी भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यस्तै यही अवधिमा पीओएस मेशिनमार्फत २४ अर्ब ७९ करोड रुपैयाँ बराबरको भुक्तानी हुँदा वालेटमार्फत हुने भुक्तानी भने ८९ अर्ब ४१ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस्तै चालु आवको हालसम्म कनेक्ट आइपीएसमार्फत मात्रै १३ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ । यसमार्फत पछिल्लो ६ महिनामा १ करोड ८४ लाख ९३ हजार पटक कारोबार भएको देखिन्छ ।

यस्तै पछिल्लो ६ महिनामा सबैभन्दा बढि कारोबार भने रियल टाईम ग्रस सेटलमेन्ट (आरटीजीएस)मार्फत भएको देखिन्छ । यसमार्फत चालु आवको पुष मसान्तसम्म ३ लाख ५२ हजार २ सय ६० पटकको कारोबारमा १८५ खर्ब ६६ अर्ब ९१ करोड रुपैयाँ बढिको भुक्तानी भएको छ । यस्तै धेरै भुक्तानी हुने दोस्रो माध्यम भने कनेक्ट आइपीएस नै हो ।

चालु आर्थिक बर्षको ६ महिनामा विभिन्न माध्यममार्फत २७१ खर्ब ५७ अर्ब ७१ करोड रुपैयाँ बढिको भुक्तानी भएको छ । यस्तो भुक्तानी ३० करोड ८४ लाख बढि पटक भएको राष्ट्र बैंकले जानकारी दिएको छ । यस्तो भुक्तानी गत आर्थिक बर्षको सोही अवधिमा १३७ खर्ब १३ अर्ब रुपैयाँ बढिको मात्रै भएको थियो ।

प्रतिक्रिया दिनुहोस्