Logo

बैंक संचालकहरुको विरोधमा उत्रियो चेम्बर, आयातमा शतप्रतिशत नगद मार्जिनको सुझावमा आपत्ति

बैंक संचालकहरुको विरोधमा उत्रियो चेम्बर, आयातमा शतप्रतिशत नगद मार्जिनको सुझावमा आपत्ति



काठमाडौं । नेपाल चेम्बर अफ कमर्स बैंक तथा वित्तीय सस्था संचालकहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)को विरोधमा उत्रिएको छ । केही समयअघि सीबीफीनले आयातलाई कडाई गर्न प्रतितपत्र मार्फत गरिने सम्पूर्ण आयातमा शतप्रतिशत नगद मार्जिन राख्न सुझाव दिएसँगै चेम्बर त्यसको विरोधमा उत्रिएको हो ।

सीबीफीनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आयातित वस्तुमा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने भन्दै अध्ययन रिपोर्ट बुझाएको विषय बाहिर आएपछि नेपाल चेम्बर अफ कमर्सले गम्भिर ध्यानाकर्षण गराएको हो । केही समयअघि मात्रै सीबीफीनले तरलता समस्या समाधानका हरेक एलसीमार्फत गरिने आयातमा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने सुझाव दिएको थियो । उक्त सुझावलाई सीबीफीनले सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो ।

‘कोभिड १९ को महामारीले मुलुकको अर्थतन्त्रलाई आक्रान्त बनाईरहेका बेला व्यवसायिक गतिविधीलाई असर गर्नेगरि आयातित केही वस्तुमा शतप्रतिशत मार्जिन लगाउने व्यवस्थाको नेपाल चेम्बर अफ कमर्सले यसअघि पनि राष्ट्र बैंकको ध्यानकर्षण गराएको थियो,’ उक्त विज्ञप्तीमा भनिएको छ, ‘एलसी खोल्दा शत प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले व्यवसायीलाई समस्या भएको र बैंक वित्तीय संस्थालाई मात्रै फाईदा पुग्नेछ ।’ साथै आयातलाई व्यवस्थित गरि निर्यात प्रर्वद्धन गर्नुपर्ने बेलामा शतप्रतिशत मार्जिनका लागि प्रेरित गर्दा यसले पार्ने नकारात्मक असरप्रति केन्द्रीय बैंक सचेत हुनुपर्ने समेत चेम्बरले जानकारी दिएको छ ।

साथै एलसीमा शतप्रतिशत मार्जिन राख्ने व्यवस्था खुला अर्थतन्त्रको नीति बिपरित भएको चेम्बरले जानकारी दिएको छ । ‘कोभिडले प्रभावित अर्थतन्त्र बिस्तारै तंग्रिदै गरेको अवस्थामा यस्ता संकुचित नीतिले निजी क्षेत्रको मनोबल घटाउने निश्चितप्राय छ,’ विज्ञप्तीमा भनिएको छ, ‘शतप्रतिशत नगद मार्जिन राख्ने सम्वन्धी व्यवस्थाले आपूर्तिमा थप समस्या निम्त्याउने, बस्तुहरुको लागत बढाउने तथा कालान्तारमा यसले बस्तुहरुको उपभोग्य मुल्य बढाउने र प्रतिस्पर्धी क्षमतामा ह्रास आउने भएकाले नेपाल चेम्बर अफ कमर्सको गम्भिर ध्यानाकर्षण भएको छ ।’
वस्तुको आयातमा उच्च भन्सार कर लगाउने नीतिप्रति पनि चेम्वरले आपत्ति जनाएको छ । विश्व व्यापार संगठन डब्लुटीओको खुला बजार अर्थव्यवस्थाको विश्वव्यापी मान्यता बिपरित यस्ता व्यवस्थाले व्यापारमा गम्भिर असर गर्ने तथा व्यवसायी नै पलायन हुनेतर्फ चेम्बरले सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL