Logo

सीबीफीनको निष्कर्ष : सेयर र घरजग्गाजस्ता अनुत्पादक क्षेत्रमा कर्जा बढ्दा तरलता संकट, सम्पूर्ण आयातमा शतप्रतिशत नगद मार्जिन

सीबीफीनको निष्कर्ष : सेयर र घरजग्गाजस्ता अनुत्पादक क्षेत्रमा कर्जा बढ्दा तरलता संकट, सम्पूर्ण आयातमा शतप्रतिशत नगद मार्जिन



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिषंघ नेपाल (सीबीफीन)ले बैंक तथा वित्तीय क्षेत्रमा तरलता संकुचन आउनुमा बैंकहरुको ठूलो भुमिका रहेको निष्कर्श निकालेको छ । परिषंघले अध्ययन गरी राष्ट्र बैंकसमक्ष बुझाएको तरलता अभाव सम्बन्धी सुझावसहितको प्रतिवेदनमा बैंकहरु पनि चोखा नभएको उल्लेख छ ।

‘बैंकहरुले अनुत्पादक वा कम उत्पादकत्व क्षेत्रका उच्च कर्जा प्रवाह गरेको र निक्षेपको लुछाचुँडीले पनि तरलता अभाव भएको हो,’ उक्त प्रतिवेदनमा भनिएको छ, ‘घरजग्गा, सेयर आदि जस्ता सट्टेबाजी प्रकृतिको क्षेत्रमा हुने कर्जामा हुने कर्जा लगानीले आर्थिक क्षेत्रलाई चलायमान बनाउन र तरल सम्पत्ति कायम गर्न सहयोग पुर्याएको देखिँदैन ।’

उक्त प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा सीबीफीनका अध्यक्ष पवन गोल्यानले यस्ता क्रियाकलापमा बैंकहरु दोषी रहेको अबका दिनमा सुध्रिनुपर्ने बताएका हुन् । ‘केही बैंकहरुले चाहिनेभन्दा बढी नाफा कमाउन खोज्दा पनि यस्तो अवस्था आएको हो,’ उनले भने, ‘पछिल्लो समय बैंकिङ क्षेत्रमा आएका समस्याको जड स्वयं बैंक आफै रहेको छ, तसर्थ धेरै कुराहरुमा हामी बैंकहरु नै सुध्रिनुपर्ने अवस्था छ ।’

उनले आफुहरु पुर्ण रुपमा अनुशासनमा बसेर कारोबार गरेमा मात्र अरुलाई दोष लगाउँदा पनि उचित हुने बताए । यस्तै उनले पछिल्लो समय सरकारी कोषको रकम खर्च नहुनु, रेमिटान्स आप्रवाहमा कमी आउनु र देशको पैशा विभिन्न कारणले बाहिरिनुले पनि तरलता अभावको समस्या निम्तिएको बताए । यस्तै उनले राष्ट्र बैंकको नीतिमार्फत आयातमा गरिएको कडाईलाई अझ थप कडाईका साथ निरन्तरता दिनुपर्नेसमेत उल्लेख गरे ।

कार्यक्रममा बोल्दै प्रतिवेदनका संयोजक उपेन्द्र पौडेलले रेमिटान्स आप्रवाह बढाउन विभिन्न औजार प्रयोग गर्न सकिने, विभिन्न कारणले विदेशिने रकम नेपालमै रोक्ने र पर्याप्त रोजगारीको सिर्जना गर्न सके दिर्घकालिन रुपमा तरलता अभावको समस्या समाधान गर्न सकिने बताए । उनका अनुसार पछिल्लो समय बढेको अनुत्पादक क्षेत्रको लगानीलाई नियन्त्रण गरेर उत्पादक मुलक क्षेत्रमा लगानी गर्ने क्रियाकलापले पनि तरलता अभावको समस्या हटाउन सकिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्