Logo

अर्थतन्त्रमा खतराको संकेत : ४ महिनामै शोधनान्तर घाटा डेढ खर्ब पुग्यो, विदेशी मुद्रा संचितीमा उच्च गिरावट

अर्थतन्त्रमा खतराको संकेत : ४ महिनामै शोधनान्तर घाटा डेढ खर्ब पुग्यो, विदेशी मुद्रा संचितीमा उच्च गिरावट



काठमाडौं । उच्च तरलता संकट, बढ्दो व्यापार घाटा तथा शोधनान्तर घाटा र विदेशी मुद्रा संचितीमा आएको गिरावटका कारण देशको अर्थतन्त्रमा खतराको संकेत देखा परेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक बर्षको पहिलो ४ महिनाको तथ्याङ्क अनुसार शोधनान्तर स्थिती १ खर्ब ५० अर्ब रुपैयाँले घाटामा रहेको छ । जबकि गत आवको सोही अबधिमा शोधनान्तर स्थिती १ खर्ब १० रुपैयाँले बचतमा थियो ।

पछिल्लो समय देशमा भैरहेको उच्च आयात तथा नेपालमा भित्रने रेमिटान्स आप्रबाहमा आएको गिरावटका कारण शोधनान्तर स्थिती घाटा ह्वात्तै बढ्नुका साथै विदेशी मुद्रा संचितीमा समेत गिरावट आएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । समिक्षा अवधिमा विदेशी मुद्रा संचितीमा ११ प्रतिशतले गिरावट आएको छ । गत आवको सोही अबधिमा नेपालको विदेशी मुद्रा संचिती १३ खर्ब ९९ अर्ब रुपैयाँ रहेकोमा चालू आबको सोही अबधिमा घटेर १२ खर्ब ४४ अर्ब रुपैयाँ झरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को ४ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७८ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २९.२ प्रतिशत, ६०.० प्रतिशत र २३.८ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

तर सो अबधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी भने बढेको छ । सो अबधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ७७ प्रतिशतले वृद्धि भई ६ अर्ब ६३ करोड भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ७५ करोड रुपैयाँ मात्र भित्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL