Logo

नागढुंगा नौविसे सुरुङमार्ग : फ्लाईओभर निर्माण प्रक्रिया सुरु, जग्गा अधिग्रहणमा १ अर्ब १४ करोड मुआब्जा बाँडिदै

नागढुंगा नौविसे सुरुङमार्ग : फ्लाईओभर निर्माण प्रक्रिया सुरु, जग्गा अधिग्रहणमा १ अर्ब १४ करोड मुआब्जा बाँडिदै



काठमाडौं । काठमाडौं भित्रिने प्रमुख नाका नागढुंगा नौविसेमा बन्दै गरेको सुरुङमार्गका लागि फ्लाईओभरको काम अघि बढेको छ । हालसम्म मुख्य र इभ्याकुएसन गरी १९ सय २० मिटर खनिसकिएको उक्त सुरुङमार्गको फ्लाईओभरको काम अघि बढेको हो । सुरुङमार्गदेखि काठमाडौंतर्फ मूख्य सडकमा पुग्नका लागि आवश्यक पहुँचमार्गमा पर्ने सडकमा हाल यसको काम अघि बढेको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए ।

उनका अनुसार पहुँचमार्गसँगै आवश्यक फ्लाईओभर १ सय २८ मिटर लामो हुनेछ । जसका लागि हाल उक्त सडक क्षेत्रमा पर्ने घरटहरा, जग्गालगायतको मुआब्जा वितरण गर्ने काम भईरहेको छ ।

१ अर्ब १४ करोड वितरण गरिँदै

काठमाडौंतर्फ करिव साढे ५ किलोमिटर लामो पहुँच सडकका लागि १२८ मिटर फ्लाईओभर बन्नेछ । पहुँचमार्ग र फ्लाईओभरका लागि आवश्यक जग्गा अधिग्रहण गरिसकिएपनि मुआब्जा भने वितरण भएको थिएन । सोही अनुसार अब आगामी २ महिनाभित्र उक्त क्षेत्रमा पर्ने घर, जग्गालगायतको मुआब्जा दिनेगरी काम अघि बढाएको आयोजना प्रमुख शाक्यले बिजखबरलाई जानकारी दिए । उनका अनुसार उक्त क्षेत्रमा पर्ने जग्गा र ५५ ओटा घरमा तत्काल मुआव्जा वितरण गर्नका लागि अर्थमन्त्रालयले ३० करोड रुपैयाँ निकासा गरिसकेको छ । सोही अनुसार आयोजनाले पहिलो चरणमा घर भत्काउनेहरुलाई पहिलो किस्ता र भत्काईसकेपछि दोस्रो किस्ता दिनेछ । ‘यो क्षेत्रमा ५५ देखि ५६ घर पनि भत्काउनुपर्नेछ,’ उनले भने, ‘घर भत्काउनका लागि भन्दै पहिले केही रकम दिईनेछ र घर भत्काईसकेपछि सबै मुआब्जा दिने योजना छ ।’

उनका अनुसार तत्काल उक्त क्षेत्रमा मुआब्जा वितरण गर्न ६० देखि ७० करोड रुपैयाँको आवश्यक पर्नेछ । त्यसपछि विस्तारै सबै मुआब्जा वितरण गर्नका लागि १ अर्ब १४ करोड रुपैयाँ चाहिनेछ । अर्थमन्त्रालयले हाल ३० करोड रुपैयाँ मात्रै निकासा गरेको छ । बाँकी रकम पनि चाँडै निकासा गर्न आग्रह गरी वितरण अघि बढाउने उनले बताए । आयोजनाले आगामी २ महिनाभित्रै सबै रकम अर्थमन्त्रालयबाट निकासा गराई वितरण गरी काम नै अघि बढाउने योजना बनाएको छ ।

धमाधम काम हुँदै

जापानी विकास नियोग (जाईका)को ऋण अनुदान सहयोगमा निर्माण भईरहेको उक्त सुरुङमार्गको काम हालसम्म भौतिक प्रगति २५ प्रतिशत र वित्तीय प्रगति ३३ प्रतिशत भईसकेको छ ।

आयोजनाका अनुसार हालसम्म मुख्य सुरुङमार्ग ५ सय ९९ मिटर, इभ्याकुएसन टनेल ११ सय २१ मिटर खनिसकिएको छ । अन्य कामहरु गरेर पनि हालसम्म करिव १९ सय २० मिटर सुरुङ खनिसकिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । उनका अनुसार काम सुरु गरेदेखि केहि हदसम्म कोरोना महामारी र केही प्रविधिक ढिलाईबाहेक काम तिव्र अघि बढिरहेको छ । आयोजनाले सुरुङमार्ग परिसरमै टेन्ट हालेर र आईसोलेसनको निर्माण गरेर कोरोना महामारी र लकडाउनकै बीचमा पनि काम धमाधम गरिरहेकै थियो ।

आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अनुसार सुरुङमार्ग २.७ किलोमिटरको हुनेछ भने लिकं रोड दुवैतिर गरि ५.५ किमीको हुनेछ । सुरुङमार्ग नेपाल आयल निगमको थानकोट डिपो नजिकैको बस्नेतछापदेखि धादिङको सिस्नेखोला निस्कने बताईएको छ ।

मूख्य सुरुङमार्ग १० मिटर चौडाईको हुनेछ, जसमा ३ वटा लेन हुनेछन् । सवारी साधनको लागि २ वटा लेन हुनेछन् भने गाडी विग्रिए वा कुनै समस्या आए साईड लगाउन सकिने गरी अर्काे एउटा लेन पनि बनाइनेछ । आपतकालीन समयमा बाहिर निस्कनका लागि प्रयोग गर्न मिल्ने गरी अर्काे स्केप्ट टनेल पनि बनाइनेछ । यो टनेलको उचाई १० मिटरको हुने आयोजनाको भनाइ छ ।

सुरुङमार्ग बनाउन जाइकाले १६ अर्ब ६३ करोड ६० लाख जापानी येन (करिब १६ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ) आगामी ४० वर्षका निम्ति ०.१ प्रतिशत सहुलियन ब्याज दरमा ऋण सहयोग गरेको हो ।

सो सुरुङमार्ग बनाउन काठमाडौंतर्फ २ सय ६७ रोपनी जग्गा अधिकरण गरिएको छ भने धादिङतर्फ १०९ रोपनी जग्गा अधिकरण गरिएको छ ।

यो सुरुङमार्ग निर्माण गर्न काठमाडौंतर्फको जग्गाका लागि सरकारले प्रतिआना न्यूनतम ९ लाख रुपैयाँदेखि ४२ लाख रुपैयाँसम्मको मुआब्जा निर्धारण गरेर वितरण गरिरहेको छ ।

आयोजनामा ३ ओटा पुल, एउटा फ्लाईओभर र २ ओटा अन्डरपास बनाईने योजना थियो । जसमा हालसम्म २ ओटा पुल, एउटा ओभरपास र एउटा अण्डरपास निर्माण भईरहेको छ । यस्तै फ्लाईओभरका लागि भने जग्गाको मुआब्जा वितरण गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL