Logo

कोभिडको नयाँ भेरिअन्ट भेटियो : ओमिक्रोन नामाकरण, भेरिअन्ट अफ ‘कन्सर्न’ घोषणा

कोभिडको नयाँ भेरिअन्ट भेटियो : ओमिक्रोन नामाकरण, भेरिअन्ट अफ ‘कन्सर्न’ घोषणा



काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको नयाँ भेरिअन्टलाई भेरिअन्ट अफ ‘कन्सर्न’ घोषणा गरेको छ र यसलाई ओमिक्रोन नाम दिएको छ । यो भेरिअन्टको ठूलो सङ्ख्यामा उत्परिवर्तित भएको छ र प्रारम्भिक प्रमाण अनुसार यो भेरिअन्टबाट सङ्क्रमणको जोखिम उच्च रहेको डब्लुएचओले जनाएको छ ।

यो भेरिअन्ट पहिलो पटक नोभेम्बर २४ तारिखमा दक्षिण अफ्रिकामा पाइएको डब्लुएचओलाई जानकारी गराइएको थियो । हालसम्म ओमिक्रोन बोत्स्वाना, बेल्जियम, हङकङ अनि इजरेलमा पनि पुष्टि भएको छ । कैयौँ देशहरूले दक्षिण अफ्रिका जाने वा आउने क्रमलाई पूर्ण प्रतिबन्ध लगाएका वा सीमित पारेका छन् ।

दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो अनि इस्वाटीटीबाट आउने यात्रुहरूमा उनीहरू यूके वा आयरल्यान्डका नागरिक वा यूकेका वासिन्दा रहेको अवस्था बाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको छ । अमेरिकाले पनि यस्तै खाले व्यवस्था कायम गरेको छ । यी व्यवस्था सोमवारबाट लागु हुने छ । युरोपेली सङ्घ अन्तर्गतका राष्ट्र र स्वीट्जरल्याण्डले पनि अस्थायी रूपमा दक्षिण अफ्रिकी राष्ट्रहरूसँगको हवाई यात्रामा रोक लगाएका छन् ।

समय अनुसार भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्नु वा उत्परिवर्तन हुनु नयाँ विषय होइन । भाइरसको कुनै पनि भेरिअन्ट तब भेरिअन्ट अफ कन्सर्न बन्छ जब यसमा हुने उत्परिवर्तनले सङ्क्रामक क्षमता, खोपको प्रभावकारिता अनि यसले गर्न सक्ने खराबीमा प्रभाव पार्छ । शुक्रवार विश्व स्वास्थ्य सङ्गठनले सुरुमा द्य।ज्ञ।ज्ञ।छद्दढ नाम दिइएको भेरिअन्टका कारण दक्षिण अफ्रिकाका सबै जसो राज्यहरूमा सङ्क्रमण बढी रहेको पाइएको जनाएको थियो ।

वैज्ञानिकहरूले यो भेरिअन्ट कत्तिको सङ्क्रामक छ भन्ने कुराको अनुसन्धान गरिरहेका बेला उसले यो नयाँ भेरिअन्टको प्रभाव बुझ्न केही हप्ता लाग्ने जनाएको छ । अमेरिकाका एक जना सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले नयाँ भेरिअन्टबारे रिपोर्टहरूले ‘रातो झन्डा’’ देखाएको भए पनि गम्भीर बिरामी हुनबाट खोपले अझै पनि जोगाउन सक्ने सम्भावना रहेको बताएका छन् । ‘राम्रोसँग परीक्षण नभएसम्म ‘ हामीलाई थाहा छैन कि यसले भाइरसबाट जोगाउने प्रतिरोधात्मक क्षमतालाई छल्न सक्छ÷ सक्दैन,’ उनले सीएनएनलाई भने ।

नयाँ भेरिअन्ट कस्तो?

दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरिअन्ट तीव्र रूपमा फैलिरहेको पत्ता लागेको हो । पहिलाका उत्परिवर्तनभन्दा यो पछिल्लो उत्परिवर्तन थप घातक हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन । बीबीसी संवाददाता जेम्स ग्यालहरले अहिलेसम्म भएका भाइरसका उत्परिवर्तनमध्ये यो पछिल्लो उत्परिवर्तन सबैभन्दा अत्यधिक सङ्क्रामक भएको बताएका छन् । उनले भाइरसमा उत्परिवर्तन भएको सूची लामो भएका कारण एकजना वैज्ञानिकले यसलाई भयानक भनेर व्याख्या गरेको बताए ।

अर्का वैज्ञानिकले चाहिँ यो भेरिअन्ट आफूहरूले देखेकोमध्ये खराब भएको बताएका छन् । नयाँ भेरिअन्ट देखिएको अवस्था अहिले सुरुकै चरणमा रहेको र अहिलेसम्म धेरै बिरामीहरू दक्षिण अफ्रिकाको एउटा प्रान्तमा केन्द्रित रहेको बताइएको छ । तर यसको सङ्क्रमण थप क्षेत्रमा फैलिएका सङ्केतहरू पनि छन् ।

यो भेरिअन्ट आश्चर्यजनक रूपमा धेरै उत्परिवर्तित पनि छ । दक्षिण अफ्रिकास्थित सेन्टर फर इपिडेमिक रेस्पोन्स एण्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलिओ डि ओलिभियराले यसअघि फैलिएका अन्य भेरिअन्टहरूभन्दा यो “धेरै भिन्न“ र “उत्परिवर्तनको अस्वाभाविक समूह“ देखिएको बताए । सञ्चारमाध्यमसँग बोल्दै प्राध्यापक ओलिभियराले समग्रमा ५० वटा उत्परिवर्तन भएको र ३० भन्दा बढी स्पाइक प्रोटिन भएको बताए ।

धेरै खोपले स्पाइक प्रोटिन भनिने शरीरको कोषमा टाँसिने भाइरसलाई निसाना बनाएका हुन्छन्, त्यहाँबाट भाइरसले शरीरका कोषमा छिर्ने मार्ग बनाउँछ । धेरै उत्परिवर्तनहरू खराब नै हुँदैनन् । ती उत्परिवर्तनले के गरिरहेका छन् भन्ने थाहा पाउनु महत्त्वपूर्ण हो । तर अहिलेको चिन्ता भनेको यो भाइरस सुरुमा चीनको वुहानमा देखिएको भाइरसभन्दा उग्र रूपमा फरक छ । बिबिसीबाट

प्रतिक्रिया दिनुहोस्
MBL